धरहरा सञ्चालनको एक महिनामा ५५ लाख आम्दानी
पुनर्निर्माणपछि धरहरा सशुल्क सञ्चालनमा आएको एक महिना पूरा भएको छ। यस अवधिमा टिकट बिक्रीबाट ५५ लाख रुपैयाँ सङ्कलन गरिएको छ। मंसिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहरामा हिजो सोमबारसम्म उक्त रकम जुटाइएको हो।
कामु आयोजना निर्देशक प्रकाश अर्यालका अनुसार, धरहरा प्रत्येक बुधबार बन्द हुन्छ भने अन्य दिनमा दैनिक झन्डै १,२०० जनाले धरहरा अवलोकन गर्छन्। उनले भने, "मंसिर ९ गतेदेखि हालसम्म ३१ हजारभन्दा बढीले धरहरा चढिसकेका छन्। १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राखिएको छैन। बिहान १०:३० देखि ३ बजेसम्म धरहरा खुला गरिएको छ। छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखिएको छ।" उनले छिमेकी मुलुकका पर्यटकहरूको समेत धरहराप्रतिको आकर्षण बढिरहेको जानकारी दिए।
धरहरा चढ्न प्रतिव्यक्ति शुल्क २ सय रुपैयाँ निर्धारण गरिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, र अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउँछन्। सार्क राष्ट्रका पर्यटकलाई ५ सय रुपैयाँ र अन्य देशका पर्यटकलाई १ हजार रुपैयाँ शुल्क तोकिएको छ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति आदेश, २०८१ अनुसार धरहरा सञ्चालन गरिएको हो। मंसिर ६ गतेको मन्त्रीपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क निर्धारण गर्ने निर्णय गरेको थियो।
धरहरा परिसरभित्र पार्किङका लागि चारपाङ्ग्रे सवारीसाधनका लागि प्रतिघण्टा २० रुपैयाँ र दुईपाङ्ग्रे सवारीका लागि १० रुपैयाँ तोकिएको छ। धरहरा परिसर प्रवेश शुल्क ५० रुपैयाँ छ। राष्ट्रिय महत्वका विज्ञापनका लागि धरहरा स्तम्भमा प्रतिघण्टा ५ हजार, व्यावसायिक भिडियो छायाङ्कनका लागि ५ हजार, र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस