रविको निलम्बनपछि रास्वपामा संसदीय दल नेताका लागि यी पाँच नेताहरू आकांक्षी
रवि लामिछाने सहकारी ठगी प्रकरणमा सांसदबाट निलम्बित भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र संसदीय दलको नेतृत्वको विषयमा तीव्र बहस सुरु भएको छ। रवि सोमबार निलम्बित भएपछि दलभित्र उपनेता विराजभक्त श्रेष्ठ, कार्यबाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद चन्दा कार्कीले संसदीय दल नेताका लागि दाबी प्रस्तुत गरेका छन्।
पार्टीभित्र नेतृत्वको विवाद
रविले हिरासतबाटै कार्यवाहक सभापतिमा अर्याललाई छनोट गरेकोमा केही नेताहरु असन्तुष्ट देखिएका छन्। सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीभित्र आफ्नो नेतृत्वका लागि खुला दाबी गरेकी छिन्। उनले सामाजिक सञ्जालमा लेख्दै, “टीका लगाएर नेता बन्ने होइन, मुद्दा र एजेन्डाका आधारमा हो। म आफ्नो भिजनसहित संसदीय दल नेतामा अप्लाई गर्छु।”
तर, केही सांसदले समानुपातिक सांसदलाई संसदीय दल नेतामा छान्न नहुने भन्दै सुमनाको विरोध गरेका छन्। “प्रत्यक्ष निर्वाचित सांसदले मात्रै दलको नेता बन्नुपर्छ,” पार्टी स्रोतले जनाएको छ।
उपसभापति स्वर्णिम वाग्ले संसदीय दलको नेताका लागि बलियो दाबेदार मानिएका छन्। तर, केही पक्षले विराजभक्त श्रेष्ठ वा डिपी अर्याललाई अगाडि सार्न सक्ने सम्भावना रहेको बताइएको छ। सांसद चन्दा कार्कीलाई पनि सुमनालाई रोक्नका लागि काउन्टर दाबेदारको रुपमा अघि सारिएको छ।
रास्वपाले रविको निलम्बनविरुद्ध अदालत जाने तयारी गरिरहे पनि उनी संसदीय दल नेताका रुपमा फर्कने सम्भावना निकै कम रहेको देखिन्छ। संसदको अर्को बैठक सुरु हुनु अगावै संसदीय दलको नेता टुंगो लगाउने पार्टीको योजना रहेको छ।
अब, रास्वपामा संसदीय दलको नेताका रुपमा पाँच प्रमुख आकांक्षी देखिएका छन्– स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, चन्दा कार्की र डिपी अर्याल। आगामी दिनमा यसले पार्टीभित्रको शक्ति सन्तुलनलाई कस्तो दिशा दिन्छ भन्नेमा सबैको चासो बढेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस