आगलागीबाट विभिन्न स्थानमा १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट
देशका विभिन्न स्थानमा भएको आगलागीका घटनामा करिब १२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
काभ्रेको नमोबुद्ध नगरपालिका-१० स्थित गणेश आधारभुत विद्यालयमा आइतबार दिउँसो लागेको आगोले खाद्यान्न सामग्री, एक थान ल्यापटप र शैक्षिक सामग्री जलेर करिब ७ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका-३ खोर्सानेखापमा अम्बीर बहादुर राईको गोठमा आइतबार बेलुकी भएको आगलागीले काठपात र परालसहित करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट गरेको छ।
त्यसैगरी, दाङको तुलसीपुर उपमहानगरपालिका-५ न्यूरोडस्थित भारत रूपैडियाका मुक्तार रहमानको किताब कपीको कवाडी संकलन केन्द्रमा सोमबार बिहान विद्युत सर्ट भई भएको आगलागीबाट ३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
तीनवटै घटनामा प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। प्रहरीले आगलागीका घटनाका कारणहरूबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। आगलागीको जोखिम न्यूनिकरणका लागि सावधानी अपनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस