रवि लामिछानेविरुद्ध अधिकतम २४ वर्ष कैद सजायको मागदाबी
पोखरा, ७ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय कास्कीले अधिकतम २४ वर्ष कैद सजायको मागदाबीसहित कास्की जिल्ला अदालतमा आइतबार अभियोग पत्र दायर गरेको छ।
सरकारले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधका तीन प्रमुख कसुर लगाएको छ। सम्पत्ति शुद्धीकरण निवारण ऐन–२०६४ अन्तर्गत लामिछानेलाई २ देखि १५ वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ।
सहकारी ठगी मुद्दामा ३ करोड ३७ लाख बिगोको दाबी गर्दै सहकारी ऐन–२०७४ को दफा १२४ अनुसार ४ देखि ६ वर्षसम्म कैद सजाय माग गरिएको छ।
संगठित अपराध निवारण ऐन–२०७० अनुसार, लाग्ने सजायमा थप ५० प्रतिशत सजाय हुने व्यवस्था छ। यस आधारमा लामिछानेलाई २४ वर्षसम्म कैद सजाय मागदाबी गरिएको हो।
जिल्ला सरकारी वकिल कार्यालयका अनुसार अभियोग पत्रमा लामिछानेको संलग्नताका पर्याप्त प्रमाण प्रस्तुत गरिएका छन्। अदालतले मुद्दामा सुनुवाइ गर्दै निर्णय गर्नेछ।
तपाईको प्रतिक्रिया दिनुहोस