Techie IT

रवि लामिछानेविरुद्ध यी ३ कसुरमा मुद्दा दर्ता

लामिछानेको भोलिदेखि बयान लिन थालिने र त्यसपछि थुनछेक बहस हुने


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आज सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता गरिएको छ।

जिल्ला सरकारी वकीलको कार्यालयले लामिछानेसहित नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशीविरुद्ध मुद्दा दायर गरेको हो। लामिछानेमाथि झण्डै सवा अर्ब रुपैयाँको बिगो दाबी गरिएको छ। मुद्दा दर्तापछि भोलिदेखि बयान लिन थालिने र त्यसपछि थुनछेक बहस हुने जनाइएको छ।

१९ जना विरुद्ध मुद्दा, लामिछाने र जोशीको नाम मुख्य अभियुक्तमा
जिल्ला प्रहरी कार्यालय कास्कीले दुई महिनाको अनुसन्धानपछि तयार पारेको प्रतिवेदनको आधारमा गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईसहित १९ जनाविरुद्ध अस्ति नै मुद्दा दर्ता भएको थियो। आज भने लामिछाने र जोशीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

प्रहरी अनुसन्धानका अनुसार पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था, र नेपालगञ्जको समानता सहकारी संस्थाको रकम गोर्खा मिडियामा पुर्याएर अपचलन गरिएको पुष्टि भएको छ।

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग लगाइएका छन्। कास्की जिल्ला सरकारी वकिल कार्यालयकी सूचना अधिकारी शान्तिदेवी शर्माका अनुसार अभियोग पत्र दर्ता भइसकेको छ।

लामिछाने दुई महिनादेखि कास्की प्रहरीको हिरासतमा छन्। अदालतमा मुद्दा दर्ता भएपछि अब कानूनी प्रक्रियाअन्तर्गत बयान र थुनछेक बहस गरिने छ।

रवि लामिछानेको मुद्दालाई उच्च प्राथमिकतामा राखेर कास्की जिल्ला अदालतले प्रक्रिया अघि बढाउने जनाएको छ। यस मुद्दाले लामिछानेको राजनीतिक करियरमा समेत ठूलो प्रभाव पार्ने आँकलन गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट