झापामा चार केजी गाँजा र तीन लाख नगदसहित युवती पक्राउ
झापाको बुद्धशान्ति गाउँपालिका–३ मा प्रहरीले चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाललाई पक्राउ गरेको छ। बुधबार राति ११ः३० बजे इलाका प्रहरी कार्यालय, बुधबारेको टोलीले धिमालको घरमा खानतलासी गर्दा गाँजासँगै नगद रु तीन लाख छ हजार आठ सय ७०, भारु दुई हजार तीन सय र गाँजा जोख्ने सामग्री बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार सुत्ने कोठाबाट गाँजा, नगद र प्याकेजिङका सामग्रीसहित चक्कु, कैची, अचानो, लाइटर, ढक र तराजु पनि फेला परेका छन्। लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी धिमालको घर पुगेको थियो। उनलाई धुलावारी इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ।
त्यसैगरी, झापामा लागुऔषध कारोबारको अभियोगमा शनिबार विभिन्न स्थानबाट थप पाँचजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर–६ का ४१ वर्षीय रुपेश पाख्रिन र ३२ वर्षीय डिकबहादुर मगर, इलामको माङसेबुङ–४ का २४ वर्षीय रोदन लिम्बू र दमक–६ का २० वर्षीय नवीन ठटाल रहेका छन्।
प्रहरीले रुपेश र डिकबहादुरलाई मेचीनगरको काँकडभिट्टाबाट पक्राउ गरेको हो भने नवीन र रोदनलाई दमकबाट प्रतिबन्धित खैरो हेरोइन र ट्रामाडोल क्याप्सुलसहित नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस