Techie IT

पाँच दशकपछि नागरिकता पाएर सावित्रीदेवीको खुसीयाली


जिल्लाको धनगढीमाई नगरपालिका–५ जयपुरकी ५० वर्षीया सावित्रीदेवी यादवले आज गाउँमा नागरिकता पाएपछि खुसीले दङ्ग हुनुभयो । गाउँघरमा महिलालाई नागरिकता बनाउन चासो नदिँदा आजभोलि भन्दाभन्दै उनले पाँच दशक कुर्नुपर्‍यो ।     
    
घर नजिकै सञ्चालित नागरिकता शिविरबाट नागरिकताको निस्सा प्राप्त गरेपछि सावित्रीदेवीले खुसी हुँदै नागरिकता नहुँदा खेप्नुपरेको असहजताबाट मुक्ति मिलेको बताएकी छन् । “यही नागरिकता पाउन बुढेसकालसम्म कुर्नुपर्‍यो । समयमा बनाउने रहर नभएको होइन, तर कसैले चासो नदिएपछि बनाउन सकिएन”, खुसी हुँदै उनले भनिन्, “मेरो सम्पत्ति भन्नु अब यही (नागरिकता) हो । गरिब थिएँ, दुःखी थिएँ, अब धनी भएँ । अत्यन्त खुसी लागेको छ ।”     
    
सावित्रादेवीले नागरिकता नहुँदा गाउँमा विभिन्न समूहमा बसेर काम गर्न नपाएको बताउँदै आफ्नो नाममा चलअचल सम्पत्ति तथा बैंक र वित्तीय संस्थामा खातासमेत नरहेको पीडा व्यक्त गरेकी छन् ।     
    
सावित्रादेवी जस्तै सोही स्थानकी गृहणी सरिताकुमारी यादवको पीडा पनि उस्तै थियो । वैदेशिक रोजगारीमा जानुभएको उहाँका श्रीमान्ले बैंकमा आफ्नो खाता नहुँदा ससुराको खातामा पैसा पठाउँदै आएको सुनाउनुभयो । नागरिकता प्राप्त गरेपछि उनले भन्नुभयो, “अब बैंकमा खाता बनाउने बाटो खुल्यो, सबैकुरा सहज हुने भयो ।”     
    
गाउँघरमा विभिन्न बाहनामा खासगरि महिला तथा वृद्धवृद्धाले नागरिकताबाट वञ्चित हुने गरेको पाइएपछि धनगढीमाई–५ को वडा कार्यालयमा संयुक्त राष्ट्रसङ्घको ‘संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना–२’ अन्तर्गत नगरपालिका र जनउत्थान केन्द्रले नागरिता वितरण गरेका हुन् ।     
    
गत मङ्सिरमा नागरिकताका लागि आवश्यक कागजात सङ्कलन गरेपछि सावित्रीदेवी र सरिताकुमारी जस्तै यहाँका ८४ जनाको नागरिकता बनाउने सपना आज पूरा भएको हो ।     
    
जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासन अधिकृत रवीन्द्रकुमार महतले यसरी नागरिकता पाउनेमा ६२ जना महिला र २० जना पुरुष रहेका जानकारी दिए । “नागरिकताको महत्व नबुझ्दा खासगरि महिला तथा दलित विपन्न नागरिक नागरिकताबाट वञ्चित भएका थिए । यस शिविरले जिल्ला प्रशासनमा पुगेर नागरिकता बनाउन असहज मान्नेलाई गाउँमा कागजात सङ्कलन गरी नागरिकता बनाउन सहज बनाइदिएको छ”, उनले भने ।     
    
प्रशासन अधिकृत महतका अनुसार नागरिकता बनाउन आवश्यक कागजात गाउँमा सङ्कलन गरिएको भए पनि उक्त कागजान जिल्ला प्रशासन कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरी छपाएर अहिले गाउँबाटै बाँडिएको हो । उनले स्थानीय पालिकाहरूले समन्वय गरी अन्य स्थानमा पनि माग भई आएमा यसैगरी नागरिकता शिविर सञ्चालन गर्न सकिने जानकारी दिएका छन् ।     
    
भौगोलिक रूपमा विकट तथा आर्थिक रुपमा कमजोर नागरिकले नागरिकताका लागि जिल्ला प्रशासन कार्यालयमा पटक–पटक धाउँदा पनि नागरिकता नबनेपछि झन्झट मानेर बीचमा प्रक्रिया छाडी हिँड्ने गरेका पाइएपछि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कर्मचारीको टोलीसहित गाउँमा खटाइएको नगरपालिकाका उपप्रमुख सङ्गीताकुमारी चौधरीले बताए । नागरिकता नभएका नागरिकले सरकारी सुविधाबाट वञ्चित हुनुपरेकाले नागरिकता शिविरमार्फत पहल गरिएको उनले जानकारी दिए ।     
    
ग्रामीण भेगका नागरिकताविहीन असाहय, सीमान्तकृत समुदाय, एकल महिला, वृद्धवृद्धा तथा आर्थिक अवस्था कमजोर भएका निम्न वर्गका नागरिकलाई यस अभियानले उत्साह जगाएको जनउत्थान केन्द्रका अध्यक्ष रामभरोसी महतोले बताउनुभयो । नागरिकता प्राप्तिपछि उनिहरूले न्यायमा पहुँच तथा सेवा सुविधामा सहयोग प्राप्त गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।     
    
अध्यक्ष महतोका अनुसार संस्थाको तर्फबाट सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा पनि नागरिकताविहनका लागि गाउँमा कागजात सङ्कलन गरिएको छ । उक्त कागजातको जिल्ला प्रशासन कार्यालय सिरहामा रुजुको काम भइरहेको उनले जानकारी दिए । साथै सप्तरीको बोदेवरसाइन तथा खडक नगरपालिकामा पनि आवश्यक कागजात सङ्कलन गरिएको छ ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट