सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै, जनकपुर बोल्ट्सले जित्यो एनपीएल २०२४ को उपाधि
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणको उपाधि जितेको छ। शनिबार भएको रोमाञ्चक फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि उचालेको हो।
सुदूरपश्चिमले दिएको १८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो। जनकपुरको जितमा ओपनर लाहिरु मिलान्था नायक बने, जसले ४९ बलमा ८७ रन बनाए। उनले ९ चौका र ४ छक्का प्रहार गरे।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, स्कट कुगेलेइन, इशान पाण्डे र सैफ जैबले एक/एक विकेट लिएका थिए।
यसअघि, टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले १८४ रन बनाएको थियो। सुदूरपश्चिमका लागि ओपनर सैफ जैबले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६९ रन जोडे। अर्का ओपनर विनोद भण्डारीले ४१ रनको योगदान गरे।
जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले तीन-तीन विकेट लिए। ललित राजवंशी र जेम्स निशमले एक-एक विकेट लिएका थिए।
विजेता जनकपुर बोल्ट्सले १ करोड १० लाख रुपैयाँ जितेको छ, जबकि उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ जितेको छ भने तेस्रो कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस