गर्भवती महिलामा बर्ड फ्लूको सङ्क्रमण घातकः अनुसन्धान
अष्ट्रेलियाको एउटा अनुसन्धानले धेरैजसो गर्भवती महिलाहरूको लागि बर्ड फ्लूको सङ्क्रमण घातक हुने देखाएको छ। मेलबर्नको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युट (एमसीआरआई) द्वारा शुक्रबार प्रकाशित गरिएको उक्त अध्ययनले १,५०० भन्दा बढी अनुसन्धान पत्रहरूको समीक्षा गरेको छ।
अनुसन्धान अनुसार ३० महिलामध्ये २७ जनामा बर्ड फ्लूको सङ्क्रमण घातक साबित भएको थियो, जसको मृत्युदर ९० प्रतिशत रहेको पाइएको छ। यो अध्ययन उच्च रोगजनक एभियन इन्फ्लुएन्जा (एचपीएआई) स्ट्रेन ‘एचफाइभ एनवन’ र ‘एचफाइभ एनटू’ विश्वव्यापी रूपमा बढ्दै गएको प्रकोपसँग सम्बन्धित मानव सङ्क्रमणका विषयमा केन्द्रित थियो।
अनुसन्धान टोलीले गर्भवती महिलालाई महामारी योजनामा जतिसक्दो चाँडो समावेश गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ। अध्ययनका सह–लेखिका राहेल पर्सेलका अनुसार, “गर्भवती महिलाहरूलाई प्रायः खोप परीक्षणहरूबाट वञ्चित गरिएको छ र सार्वजनिक स्वास्थ्य खोप कार्यक्रमहरूमा ढिलाइको सामना गर्नुपरेको छ। यो समूहलाई महामारीविरुद्धको उपचार र अन्य कार्यक्रमहरूमा नियमित रूपमा सहभागी गराउनु आवश्यक छ।”
अनुसन्धानले जनाएअनुसार गर्भवती महिलाहरूलाई लक्षित गरी खोप र अन्य महामारी रोकथामका उपायहरूको तत्काल विकास र कार्यान्वयन गर्न जरुरी छ। विशेषतः, महामारीको उच्च जोखिममा रहेका समुदायहरूसँग सम्बन्धित नीति निर्माणमा गर्भवती महिलाको विशेष प्राथमिकता सुनिश्चित गर्नुपर्ने देखिन्छ ।
तपाईको प्रतिक्रिया दिनुहोस