कर्णालीलाई २ विकेटले हराउँदै फाइनलको यात्रामा जनकपुर बोल्ट्स
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर-२ मा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ। आज बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सले कर्णालीलाई २ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो।
यससँगै तेस्रो स्थानमा रहेको कर्णालीको यात्रा टुङ्गिएको छ। अब शनिबार हुने फाइनलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच उपाधिका लागि भिडन्त हुनेछ।
कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो।
जनकपुरका लागि जेम्स निशमले ४५ रन बनाए। उनले १७ बलमा २ चौका र ५ छक्का प्रहार गरे। ११.५ ओभरमा ५ विकेट गुमाएर ५८ रन बनाएको जनकपुरको लागि विस्फोटक ब्याटिङ गर्दै निशमले जितको आधार तय गरेका थिए।
यसै गरी, हर्ष थाकेरले १७ र आकाश त्रिपाठीले १३ रन बनाए। शेर मल्ल र मायम यादवले क्रमशः १६ र १४ रन जोडे।
कर्णालीका लागि विपिन शर्माले ३ विकेट लिए, जबकि कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र जिशान मक्सुदले १-१ विकेट लिएका थिए।
यसअघि, कर्णालीले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर ११८ रन बनाएको थियो। कर्णालीका लागि गुल्शन झाले २५ र देव खनालले २४ रन बनाए। विलियम बोसिस्टो १४, जिशान मक्सुदले १२, र च्याडविक वाल्टनले ११ रन जोडे।
जनकपुरका लागि ललित राजवंशी र मोहम्मद मोहसिनले २-२ विकेट लिए, जबकि हर्ष थाकेर, जेम्स निशम र शेर मल्लले १-१ विकेट लिएका थिए।
अब, जनकपुर बोल्ट्स शनिबार सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि भिड्नेछ।
तपाईको प्रतिक्रिया दिनुहोस