आगलागीबाट लाखौंको धनमाल नष्ट
विद्युत सर्टका कारण देशका विभिन्न स्थानमा आगलागी भई लाखौं रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
काठमाडौं, दक्षिणकाली नगरपालिका-७ फर्पिङ बसपार्कस्थित मकवानपुर इन्द्रसरोवर गाउँपालिका-२ का प्रकाश तामाङको प्रकाश भोजनालयमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा खाद्यान्न, भाँडावर्तन, फ्रिज, फर्निचर लगायतका सामग्री जलेर करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
त्यसैगरी, काठमाडौं महानगरपालिका-७ भत्केकोपुल बुल्बुले मार्गमा कृष्ण बहादुर भण्डारीको घरको कम्पाउण्डमा रहेको टहरामा विद्युत सर्ट भई आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
महोत्तरी जिल्लाको औरही नगरपालिका-१ औरही बजारमा ५५ वर्षीया फुलो देवी मण्डलको कस्मेटिक पसलमा पनि विद्युत सर्टका कारण आगलागी भएको छ। यद्यपि, यस घटनाबाट भएको क्षतिको विवरण हालसम्म खुल्न सकेको छैन।
तीनै स्थानमा स्थानीय बासिन्दा तथा दमकलको सहायताले आगो नियन्त्रणमा ल्याइएको छ भने प्रहरी घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस