Techie IT

दक्षिण कोरियाका राष्ट्रपति युन भ्रष्टाचार नियन्त्रण निकायसमक्ष उपस्थित हुन अस्वीकार


दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले बुधबार देशको भ्रष्टाचार निगरानी निकायसमक्ष उपस्थित हुन अस्वीकार गरेका छन्।

गत डिसेम्बर ३ मा सैनिक शासनको अल्पकालीन घोषणापछि संसद्ले उनलाई जिम्मेवारीबाट हटाएपछि यो कदम चालिएको हो। राष्ट्रपतिको यस निर्णयले दशकौँपछि देशलाई सबैभन्दा खराब राजनीतिक सङ्कटतर्फ धकेलेको बताइएको छ।

भ्रष्टाचार अनुसन्धान कार्यालयले राष्ट्रपति युनमाथि विद्रोह र शक्तिको दुरुपयोग गरेको आरोपमा अनुसन्धान सुरु गरेको छ। यस क्रममा, उनलाई बुधबार बिहान १०:०० बजे कार्यालयमा सोधपुछका लागि बोलाइएको थियो। तर, उनले सो प्रक्रियामा सहभागी हुन मानेनन्।

कार्यालयका एक अधिकारीले एएफपीलाई बताएअनुसार, “राष्ट्रपति युनलाई अनुसन्धानका लागि बोलाइएको भए पनि उनी उपस्थित भएनन्।”

राष्ट्रपतिको कानुनी टोलीले अनुसन्धानमा सहयोग गर्न तयार रहेको तर अदालतमा प्रतिरक्षा प्रस्तुत गर्ने योजना बनाएको छ। कानुनी टोलीका सदस्य सेओक डोङ–ह्योनले भनेका छन्, “हामीले अनुसन्धान प्रक्रियामा सहयोग गर्न प्रतिबद्ध छौँ।”

यद्यपि, भ्रष्टाचार अनुसन्धान कार्यालयले पठाएको पत्रलाई राष्ट्रपतिको कार्यालयका एक व्यक्तिले बुझ्न अस्वीकार गरेपछि पत्र फिर्ता भएको थियो।

राष्ट्रपति युनमाथि लागेको आरोप पुष्टि भएमा उनलाई आजीवन कारावास वा मृत्युदण्डको सजायसम्म दिन सकिनेछ। अनुसन्धानकर्ताहरूले दोस्रो पत्र पठाउने तयारी गरिरहेका छन् भने गिरफ्तारी वारेन्ट जारी गर्ने विषयमा पनि छलफल भइरहेको छ।

दक्षिण कोरियाको संवैधानिक अदालतले युनविरुद्ध मुद्दाको सुनुवाइ सुरु गरिसकेको छ। अदालतले उनलाई क्याबिनेट बैठकका अभिलेख पेश गर्न आदेश दिएको छ। यो मुद्दाको अन्तिम फैसला न्यायाधीशहरूले आगामी छ महिनाभित्र दिने सम्भावना छ भने प्रारम्भिक सुनुवाइ डिसेम्बर २७ का लागि तय गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट