‘जलवायु परिवर्तनले देशको अर्थतन्त्र जोखिम’
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुजन्य प्रभावका कारण देशको अर्थतन्त्र जोखिममा परेको बताएका छन् ।
आज यहाँ आयोजित नेपाल ‘बिएफएसआई’ शिखर सम्मेलनमा मन्त्री ठकुरीले जलवायु परिवर्तनले वित्तीय क्षेत्रलाई गम्भीर असर पु-याइरहेको बताएका छन् । जलवायु परिवर्तनले मुलुकको आर्थिक र सामाजिक क्षेत्र जोखिममा परेको उनको भनाइ थियो ।
“हिमनदीहरू द्रुतगतिमा पग्लँदै जानु, मौसमी प्रणालीमा आएको फेरबदल र यसको प्रभावले हाम्रो कृषि, जल स्रोत, पर्यटन, वन तथा वातावरणका साथै जीविकोपार्जनलाई गम्भीर असर पु-याइरहेको छ”, मन्त्री ठकुरीले भने, “हाम्रा विकासका लक्ष्य साथै आर्थिक र सामाजिक क्षेत्रलाई समेत जोखिममा पारेको छ ।”
बाढीबाट करिब ४६ दशमलव ६० अर्ब रुपैयाँ बराबरको क्षति हुनुका साथै जलविद्युत्, खानेपानी, सिँचाइलगायत संरचनाहरुमा गम्भीर क्षति पुगेको अनुमान गरिएको उनले बताए । सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा जलवायु सङ्कटको सामना गर्नका लागि निरन्तर पहल गरिरहेको उनले जानकारी दिएका छन् ।
सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले हरित अर्थतन्त्रको विकास र रुपान्तरणमा वित्तीय क्षेत्रको भूमिकाको चर्चा गर्दै दिगो अर्थव्यवस्था विकास गर्न वित्तीय संस्थाहरुलाई सरकारसँग सहकार्य गर्न आह्वानसमेत गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस