परराष्ट्रमन्त्री आरजु राणाको भारत भ्रमण अन्योल
स्रोतले परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा केही उच्चस्तरीय भेटवार्ता गर्ने योजना भए पनि कार्यतालिका नमिल्दा भ्रमणको निर्णय टुंगोमा पुग्न नसकेको जनाएको छ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा दुई हप्तादेखि युरोप भ्रमणमा छिन्। परराष्ट्र मन्त्रालयका अनुसार उनी पुस ५ गते नेपाल फर्किने कार्यक्रम छ। तर, युरोप भ्रमणकै क्रममा मन्त्री राणा भारत जाने चर्चा पनि चुलिएको छ। यद्यपि, यसबारे औपचारिक जानकारी सार्वजनिक भइसकेको छैन।
परराष्ट्र मन्त्रालयका एक स्रोतका अनुसार भारत भ्रमणको तयारी भइरहे पनि त्यसको टुंगो लागेको छैन। मन्त्री राणा भारतमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुने र स्वास्थ्य जाँचका लागि जान लागेको बताइएको छ।
स्रोतले परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा केही उच्चस्तरीय भेटवार्ता गर्ने योजना भए पनि कार्यतालिका नमिल्दा भ्रमणको निर्णय टुंगोमा पुग्न नसकेको जनाएको छ।
मंगलबार परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र नेपालका लागि कार्यवाहक भारतीय राजदूत प्रसन्न श्रीवास्तवबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री राणाको भारत भ्रमणका विषयमा छलफल भएको बताइएको छ। तर, सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित भारत भ्रमणका विषयमा भने कुनै छलफल नभएको स्रोतले जनाएको छ।
परराष्ट्रमन्त्री राणा भारतको "फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर (एग्रो)" र "नेपाल समसामयिक अध्ययन केन्द्र"द्वारा आयोजना हुने पुस ५ गतेको आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने तयारीमा छिन्। सम्मेलनमा भाग लिने भएमा उनी युरोपबाट भारत हुँदै नेपाल फर्किनेछिन्। तर, उच्चस्तरीय भेटवार्ताको समय नमिल्ने हो भने उनी भारत नगई सीधा नेपाल फर्किन सक्छिन्।
मन्त्री राणा अहिले जर्मनीमा एक कार्यक्रममा सहभागी भइरहेकी छिन्। त्यसपछि केही उच्चस्तरीय भेटघाट गर्दै उनी नेपाल फर्किने कार्यक्रम छ। यद्यपि, भारत भ्रमण हुने वा नहुने विषयले अन्तिम रूप नपाएकाले उनी सोझै नेपाल फर्किने वा भारत हुँदै आउने भन्ने अन्योल कायम छ।
भारत भ्रमण निश्चित भएमा मन्त्री राणाले भारतीय विदेशमन्त्री एस. जयशंकरलगायत उच्चस्तरीय व्यक्तित्वहरूसँग भेटवार्ता गर्ने योजना रहेको स्रोतले जनाएको छ। यद्यपि, भ्रमणको टुंगो लगाउन मन्त्रालयले अझै समय लिने सम्भावना छ।
तपाईको प्रतिक्रिया दिनुहोस