बामदेव गौतम एकीकृत समाजवादीमा प्रवेशको तयारीमा
![](https://www.raibarpress.com/uploads/medias/bamdevgautam.jpg)
‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक तथा नेकपा एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष बामदेव गौतम एकीकृत समाजवादीमा प्रवेश गर्न नजिक नजिक पुगेका छन्। एकीकृत समाजवादीले गौतमलाई तेस्रो वरियतामा राख्दै पार्टीमा स्वागत गर्न तयारी गरिरहेको छ।
पार्टीमा अध्यक्ष माधवकुमार नेपाल पहिलो वरियतामा छन् भने सम्मानित नेता झलनाथ खनाल दोस्रो वरियतामा। गौतमलाई तेस्रो वरियतामा राखेर भित्र्याउने योजना पार्टीले अघि बढाएको एक नेताले जानकारी दिएका छन्।
गौतम र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार यसबारे अन्तिम छलफल हुँदैछ। अभियानका नेता डीबी कार्कीका अनुसार बिहीबार नै गौतम र नेपालबीच भेटवार्ता हुने तय भएको छ, त्यहाँ पार्टी प्रवेशका सम्बन्धमा विस्तृत कुराकानी हुनेछ।
एकीकृत समाजवादीको स्थायी समिति बैठकले गौतमलाई पार्टीमा स्वागत गर्ने निर्णय यसअघि नै गरिसकेको थियो। तर, गौतमले आफ्नो अभियानका नेताहरूसहित मात्रै पार्टीमा प्रवेश गर्ने अडान राख्दै आएका छन्।
गौतमले एमाले र एकीकृत समाजवादी दुवैसँग संवाद जारी रहेको बताए पनि एमालेसँगको असन्तुष्टिका कारण एकीकृत समाजवादीमा प्रवेश गर्न तल्लीन भएको बताइन्छ। गौतमले यसअघि एमाले महासचिव शंकर पोखरेलसँग भेटेर पार्टी एकताको प्रस्ताव राखेका थिए, तर एमालेले व्यक्तिगत प्रवेशको ढोका मात्र खोल्ने निर्णय गरेपछि उनी असन्तुष्ट बनेका थिए।
एकीकृत समाजवादीले भने पार्टी एकताको ढोका खुला गर्दै गौतमलाई समेट्न दृढ रहेको जनाएको छ। गौतमको प्रवेशले पार्टीलाई नयाँ ऊर्जा दिने विश्वास एकीकृत समाजवादीले लिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस