धवलागिरि गाउँपालिकाको 'दीर्घरोगीसँग अध्यक्ष' कार्यक्रमबाट ८०० भन्दा बढी लाभान्वित
धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट आठ सय जनाभन्दा बढी लाभान्वित भएका छन् । नसर्ने रोग पहिचान र उनीहरूको उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले गत मङ्सिर २५ गते ताकमबाट सुरु गरेको कार्यक्रम मङ्गलबार मल्कवाङमा समापन गरिएको छ ।
धवलागिरि गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना खाती कार्कीका अनुसार सातवटा वडामा एक–एक दिनका दरले सञ्चालन गरिएको कार्यक्रममार्फत आठ सय १६ जना विभिन्न रोगका बिरामीले सेवा पाएका छन् । ताकममा एक सय छ, मुदीमा एक सय २५, मुनामा एक सय १५, लुलाङमा एक सय ३५, मराङमा एक सय १५, मल्कवाङमा एक सय १५ र गुर्जामा एक सय ३५ जनाले सेवा पाएका हुन् ।
धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले स्वास्थ्य क्षेत्रको प्रमुख चुनौती बनेको नसर्ने रोग न्यूनीकरणका साथै उपचार सेवामा पहुँच बढाउन कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । “भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रका नागरिकलाई घरदैलोमा विशेषज्ञसहितको सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो”, उनले भने, “प्रयोगशालाका सामग्री, उपकरण, औषधि र चिकित्सकसहितको टोली गाउँगाउँमा पुगेर सेवा दिएका छौँ ।”
कार्यक्रममार्फत चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण, परामर्श, प्रयोगशाला र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा प्रदान गरिएको छ । मुटु, मिर्गौैला, मधुमेह, उच्चरक्तचापलगायत रोगीहरूलाई पहिचान गर्ने र उनीहरूलाई निःशुल्क औषधि वितरण गरिएको छ ।
बेनी अस्पतालका चिकित्सक डा रामु सापकोटा, समिर भण्डारी र रोजिना कटुवालसहितको टोलीले सेवा दिएका थिए । धवलागिरि गाउँपालिकामा सातवटा वडा छन् । सवै वडामा कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले बताएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस