सहकारी ठगीमा संलग्नहरुलाई छानबिन प्रतिवेदनले पाताल मुनि गए पनि छाड्दैन - सूर्यबहादुर थापा
सहकारी ठगीमा संलग्न र फरार व्यक्तिहरूलाई कानूनको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै एमाले सांसद तथा सहकारी छानबिन समितिका सभापति सूर्यबहादुर थापाले कठोर कारबाहीको चेतावनी दिएका छन्।
मंगलबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै थापाले भने, “सहकारी ठगीमा संलग्न र फरार व्यक्तिहरू अब जहाँसुकै भए पनि जोगिने अवस्था छैन। छानबिन प्रतिवेदनले सहकारी ठगीमा संलग्नहरुलाई पानीमुनि गए पनि छाड्दैन, आकाशमै गए पनि छोड्दैन, पाताल मुनि गए पनि छाड्दैन।”
उनको नेतृत्वमा गठित संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी ठगीमा संलग्नहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। थापाले सहकारी ठगीलाई “राष्ट्रिय जागरण र कर्तव्यबोधको मुद्दा” को रूपमा चित्रण गर्दै भने, “प्रतिवेदनले दोषीलाई कानूनको कठघरामा ल्याउने आधार तयार गरेको छ।”
छानबिन प्रतिवेदनका आधारमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, छविलाल जोशीलगायत व्यक्तिहरूलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ।
थापाले प्रतिवेदन पाँचवटा पार्टीको सहमतिमा बनेको भन्दै पछिल्लो समय त्यसलाई एक व्यक्तिमात्र केन्द्रित गरिएको भनी भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाए। उनले प्रतिवेदन कुनै व्यक्ति विशेषको विरुद्ध नभइ सहकारी प्रणाली सुधारको उद्देश्यले तयार पारिएको स्पष्ट पारे।
तपाईको प्रतिक्रिया दिनुहोस