प्रधानमन्त्री ओली र मेयर बालेनलाई एउटै मञ्चमा ल्याउने प्रयास असफल
प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई एउटै मञ्चमा उभ्याउने ललितपुर महानगरपालिकाको प्रयास असफल भएको छ। ललितपुर महानगरको १०६औँ स्थापना दिवसको अवसरमा मेयर चिरिबाबु महर्जनले दुबैलाई निम्तो दिएका थिए।
कार्यक्रममा प्रधानमन्त्री ओली प्रमुख अतिथिको रूपमा उपस्थित भए पनि काठमाडौंका मेयर बालेन साह भने अनुपस्थित रहे। मेयर बालेनलाई बिहान १० बजेसम्म कार्यक्रममा उपस्थित हुन आग्रह गरिएको थियो। ललितपुर महानगरकी अधिकृत विजेता सुवेदीका अनुसार, “उहाँ १० बजेसम्म आउने कुरा थियो, तर आउनुभएन। किन आउनुभएन, हामीलाई थाहा भएन।”
प्रधानमन्त्री ओलीको सहभागितालाई ध्यानमा राख्दै कार्यक्रम स्थलमा सुरक्षाका लागि सयौँ सुरक्षाकर्मी परिचालन गरिएको थियो। बिहान साढे ८ बजे सुरु हुने भनिएको कार्यक्रममा प्रधानमन्त्री ओली करिब ९ बजे मात्र उपस्थित भएका थिए।
कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन विशिष्ट अतिथि र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्की विशेष अतिथिका रूपमा सहभागी भए।
यसअघि पनि मेयर साहले इन्द्रजात्रा कार्यक्रममा प्रधानमन्त्री ओलीसँग एउटै मञ्चमा नबस्ने मनसाय देखाएका थिए। त्यतिबेला उनी भारतको भ्रमणमा निस्किएका थिए।
प्रधानमन्त्री ओली र मेयर बालेनबीचको टकरावका कारण उनीहरूलाई एउटै मञ्चमा ल्याउने प्रयास असफल भइरहेकाले यसलाई राजनीतिक तहमा थप चर्चा र बहसको विषय बनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस