एमबीबीएस प्रवेश परीक्षा नतिजाको त्रुटि सच्यायो
चिकित्सा शिक्षा आयोगले एमबीबीएस प्रवेश परीक्षाको नतिजामा भएको त्रुटि सच्याउँदै संशोधित नतिजा सार्वजनिक गरेको छ।
आयोगका अनुसार, समान अंक प्राप्त गर्ने विद्यार्थीहरूको योग्यताक्रम 'टाइब्रेक'को आधारमा कायम गर्नुपर्नेमा त्रुटिका कारण रोल नम्बरको आधारमा हुन गएको थियो। यो त्रुटि पहिचान गरेर आयोगले संशोधित नतिजा सार्वजनिक गरेको हो।
आयोगका उपसचिव धनबहादुर श्रेष्ठका अनुसार, 'समान अंक ल्याउने उम्मेदवारहरूको योग्यताक्रम टाइब्रेकको आधारमा कायम हुनु पर्ने थियो, तर प्राविधिक त्रुटिका कारण रोल नम्बरको आधारमा प्रकाशित हुन गएकाले यसलाई संशोधन गरेर टाइब्रेकको आधारमा नतिजा प्रकाशित गरिएको छ।'
परीक्षार्थीले समान अंक प्राप्त गर्दा क्रमशः बायोलोजी, केमेस्ट्री, फिजिक्स र गणितमा प्राप्त गरेको अंकका आधारमा मेरिट कायम हुनुपर्नेमा यसअघि रोल नम्बरका आधारमा मात्र सूची प्रकाशित भएको थियो।
आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीका अनुसार, यो त्रुटि मानवीय कमजोरीका कारण भएको हो। उनले भने, 'आयोगले त्रुटि भएको स्वीकार गरेको छ। कमजोरी भएको थाहा हुनेबित्तिकै आयोग र परीक्षा समितिको बैठक छाडेर नतिजा सच्याउने कार्य भएको छ।'
संशोधित नतिजामा समान अंक प्राप्त गरेका उम्मेदवारहरूको मात्र योग्यताक्रम परिवर्तन भएको र अन्य उम्मेदवारहरूको योग्यताक्रम यथावत रहेको आयोगले जनाएको छ। करीब ३ हजार विद्यार्थीको नतिजा परिवर्तन भएको अनुमान गरिएको छ।
यसअघि आयोगले सार्वजनिक गरेको जनस्वास्थ्य विषयको नतिजामा पनि त्रुटि भएको थियो, जुन पनि सच्याइएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस