Techie IT

हिउँदमा लोडसेडिङ रोक्न भारतबाट ६५० मेगावाट विद्युत आयात हुने


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालले भारतबाट साढे ६ सय मेगावाट विद्युत आयात गर्ने तयारी गरेको बताएका छन्। उनले नेपालभित्रको विद्युत आपूर्ति सहज बनाउन भारतसँग सहमति भएको जानकारी दिए।

मन्त्री खड्काका अनुसार पुस महिनादेखि नै भारतबाट विद्युत खरिद गर्न थालिनेछ। गत वर्षको बाढीका कारण जलविद्युत आयोजनाहरूमा क्षति पुगेर उत्पादनमा कमी आएपछि हिउँदको सुख्खायाममा लोडसेडिङ हुन नदिन भारतबाट विद्युत खरिद गर्ने निर्णय गरिएको हो।

उनले भने, “भारत भ्रमणको क्रममा त्यहाँका मन्त्री तथा सचिवसँग बृहत् छलफल भयो। त्यसै क्रममा सुख्खायाममा साढे ६ सय मेगावाट विद्युत खरिद गर्ने सहमति भयो, जुन पुसदेखि लागू हुनेछ। गत वर्षको बाढीले जलविद्युत आयोजनाहरूमा क्षति पुर्‍यायो। अहिले सरकारको हिसाबले नेपालमा साढे ३ सय मेगावाट उत्पादन थप हुने अनुमान गरिएको छ। हिउँदमा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या हुनसक्छ।”

भारतले साँझको चार घण्टा विद्युत दिन नसक्ने बताएको उल्लेख गर्दै मन्त्री खड्काले भने, “साँझको समयमा भारतले चार घण्टा आपूर्ति गर्न नसक्ने जानकारी दिएको छ। तर भारतका ऊर्जा मन्त्री नेपाल भ्रमणमा आउँदा यस विषयमा पुनः छलफल हुनेछ, र सम्भवतः दुई घण्टामा छोट्याउने प्रयास हुनेछ।”

उनले लोडसेडिङको सम्भावना न्यून रहेको दाबी गरे। “नेपालले यसअघि ९ सय मेगावाटसम्म आपूर्ति गर्दै आएको थियो। अहिले साढे ६ सय मेगावाट भारतबाट आपूर्ति हुनेछ। नेपालभित्रै साढे ३ सय मेगावाट थपिने भएकाले विद्युत आपूर्तिमा ठूलो असर पर्ने छैन। साँझको समय केही ठाउँमा लोडसेडिङ हुन सक्ने अनुमान छ, तर विगतको तुलनामा स्थिति धेरै फरक हुनेछ,” मन्त्री खड्काले भने।

सरकारले विद्युत माग र आपूर्ति व्यवस्थापनलाई प्राथमिकता दिएर कार्ययोजना बनाएको र लोडसेडिङ रोक्न हरसम्भव प्रयास भइरहेको मन्त्री खड्काले जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट