भारत भ्रमण असफल भएपछि ओली चीन गएका हुन्: माओवादी नेता वर्षमान पुन
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे टिप्पणी गर्दै चार महिनासम्म भारत भ्रमणको प्रयास असफल भएपछि चीन भ्रमणमा गएको आरोप लगाएका छन्।
माओवादी केन्द्रको जलजला गाउँपालिकामा आयोजित तेस्रो अधिवेशनको उद्घाटन गर्दै पुनले नेपालले भारत र चीन दुबैसँग सन्तुलित सम्बन्ध कायम गरी दुबै देशको आर्थिक विकासबाट लाभ लिनुपर्नेमा जोड दिए। तर, हालको सरकारले छिमेकी राष्ट्रहरूसँग असन्तुलित सम्बन्ध राख्न खोजेको भन्दै पुनले आपत्ति जनाए।
पुनका अनुसार प्रधानमन्त्री ओलीले पहिला भारत जाने प्रयास गरे पनि असफल भएपछि ‘भारतलाई देखाउन’का लागि चीन गएका हुन्। पुनले माओवादी नेतृत्वको पूर्ववर्ती सरकारले सन्तुलित परराष्ट्र नीति अपनाउँदै चीनसँग ठूला विकास परियोजनामा सहयोग लिएको र भारतसँग १० हजार मेगावाट विद्युत् निर्यातसम्बन्धी समझदारी गरेको स्मरण गराएका थिए।
पुनले सरकारलाई भ्रष्टाचार संरक्षणमा लागेको आरोप लगाउँदै कांग्रेस र एमालेबीच गठबन्धन निर्माणमा बिचौलियाहरूको भूमिकालाई इंगित गरे। “भ्रष्टाचारी जोगाउन बिचौलियाले कांग्रेस र एमाले मिलाएर सरकार बनाएको हाम्रो दाबी अहिलेका घटनाक्रमले पुष्टि गर्दै गएको छ,” पुनले भने।
उनले राजनीतिक दलहरूले सत्ताका लागि गठबन्धन गर्दा जनताको आवश्यकतालाई बेवास्ता गर्न नहुने भन्दै आगामी दिनमा माओवादीले भ्रष्टाचारविरोधी अभियानलाई सशक्त रूपमा अघि बढाउने बताए।
पुनले वर्तमान सरकारलाई भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध कायम राख्दै राष्ट्रिय हितलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्। “हामीलाई छिमेकी राष्ट्रहरूको सहयोग चाहिन्छ, तर कुनै एक देशको पक्षधर भएर अर्कोलाई कमजोर देखाउने रणनीति राष्ट्रको हितमा हुँदैन,” उनले थपे।
तपाईको प्रतिक्रिया दिनुहोस