देशभरमा सवारी दुर्घटनामा १३ जनाको मृत्यु
देशका विभिन्न भागमा भएको सवारी दुर्घटनामा आइतबार र सोमबार गरी १३ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्।
बर्दिया:
गुलरिया नगरपालिका-६ स्थित सडकमा म.१ त १०६२ नम्बरको ट्याक्टरमा ठोक्किँदा स्कुटर चालक सप्तरी रूपनी गाउँपालिका-१ घर भई गुलरिया बस्ने ३७ वर्षीय रामकुमार साह र उनकी छोरी ६ वर्षीया विद्या साहको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनीहरूको बर्दिया अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
काठमाडौं:
चन्द्रागिरी नगरपालिका-२ मसिनेस्थित सडकबाट बा.३३ प ३६८ नम्बरको मोटरसाइकल ७० मिटर तल खस्दा २६ वर्षीय टिकाराम तामाङको मृत्यु भएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा उनको निधन भएको हो।
दैलेख:
चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ राताडाँडास्थित सडकमा मोटरसाइकल अनियन्त्रित हुँदा चालक ३२ वर्षीय मनोज कुमार भण्डारीको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका एक जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ।
झापा:
दमक र शिवसताक्षी नगरपालिकामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा चार जनाको ज्यान गएको छ।
दमकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ३२ वर्षीया जमुना धिमाल र २५ वर्षीया मनचरी राईको मृत्यु भएको छ।
शिवसताक्षीमा ट्याक्टरमा ठोक्किँदा ४२ वर्षीय सन्तोष कुमार लिम्बुको निधन भएको हो।
दाङ:
घोराही उपमहानगरपालिका-१५ कपासीस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा २१ वर्षीय मिन बहादुर वलीको मृत्यु भयो।
लमही नगरपालिका-९ च्याँउ खोला नजिक विङ्गर दुर्घटनामा ४२ वर्षीया त्रीथी थारू र ६० वर्षीया फुलसी थारूको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका १२ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ।
सवारी दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। दुर्घटनामा संलग्न केही चालक नियन्त्रणमा रहेका छन् भने केही फरार चालकको खोजी भइरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस