यो गठबन्धन ढल्यो भने स्वार्थहरूको नयाँ सरकार बन्ने सम्भावना - भुसाल (प्रतिवेदन सहित)
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले वर्तमान सत्ता गठबन्धनलाई सबैभन्दा बलियो रहेको उल्लेख गर्दै यो ढल्यो भने स्वार्थहरूको नयाँ गठबन्धन सरकार बन्ने चेतावनी दिएका छन्।
पार्टीको स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा भुसालले अहिलेको गठबन्धन तोडियो भने मुलुक राजनीतिक अस्थिरता र अराजकतातर्फ जाने सम्भावना रहेको बताएका छन्। उनले भने, “यो गठबन्धन तोडिएपछि बन्ने नयाँ गठबन्धन राजनीतिक रूपमा कमजोर हुनेछ, जसले मुलुकलाई अझ डरलाग्दो अस्थिरतातर्फ लैजान सक्छ।”
भुसालले वर्तमान सरकारको क्रियाकलापले मुलुकका गम्भीर समस्याहरू समाधान गर्न नसक्ने पनि दाबी गरेका छन्। उनले कांग्रेस र एमालेले अगाडि सारेको संविधान संशोधनको मुद्दाले राजनीतिक अन्तरविरोधलाई अझै चर्काउने निष्कर्ष प्रतिवेदनमा उल्लेख गरेका छन्।
भुसालको प्रतिवेदनमा सत्ता ‘फासिष्ट’ बन्न सक्ने र सडक आन्दोलनहरू ‘अराजक’ बन्दै जाने जोखिमतर्फ सचेत गराइएको छ। उनका अनुसार, अहिलेको संसदभित्र सम्भावित गठबन्धनहरूमध्ये वर्तमान गठबन्धन नै सबैभन्दा सुदृढ छ।
तपाईको प्रतिक्रिया दिनुहोस