Techie IT

भारतीय सेनाको कारबाहीमा सात माओवादी विद्रोहीको मृत्यु


भारतीय सेनाले छत्तीसगढ राज्यको बस्तर क्षेत्रको दुर्गम जङ्गलमा भएको झडपमा सात माओवादी विद्रोहीलाई मारेको छ।

सुरक्षा बलले लामो समयदेखि जारी सशस्त्र विद्रोहलाई दबाउन पछिल्ला महिनाहरूमा कारबाही तीव्र बनाएपछि विद्रोहीहरूले ठूलो क्षति व्यहोर्नुपरेको छ। प्रहरी महानिरीक्षक पी. सुन्दरराजले एएफपीसँग कुरा गर्दै भने, "अहिलेसम्म सात माओवादी विद्रोहीको शव फेला परेको छ। थप व्यक्तिहरूको पनि मृत्यु भएको अनुमान गरिएको छ तर उनीहरूको शव अहिलेसम्म फेला परेको छैन।"

सन् २०२६ को सुरुसम्म माओवादी विद्रोहलाई पूर्णतः अन्त्य गर्ने सरकारको योजना रहेको छ। यसै लक्ष्यअनुसार भारतीय गृहमन्त्री अमित शाहले माओवादीहरूलाई आत्मसमर्पण गर्न वा चौतर्फी आक्रमणको सामना गर्न चेतावनी दिएका थिए।

सन् १९६७ मा सुरू भएको नक्सलवादी आन्दोलनले भारतको मध्य क्षेत्रका सीमान्तकृत आदिवासीहरूको अधिकारका लागि लडिरहेको दाबी गर्दै आएको छ। यस क्रममा १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। माओवादी विद्रोहीहरू चिनियाँ नेता माओत्सेतुङबाट प्रेरित मानिन्छन्।

विद्रोहीहरूले स्थानीय बासिन्दाहरूका लागि भूमि, रोजगारी, र प्राकृतिक स्रोतहरूमा हिस्साको माग गरेका छन्। उनीहरूको प्रभाव भारतको पूर्वी र दक्षिणी दुर्गम क्षेत्रमा अझै केही हदसम्म देखिन्छ।

सन् २००० को दशकको सुरुसम्म विद्रोहीहरूको सङ्ख्या र शक्ति दुवै बढेको देखिएको थियो। तर, सरकारले विद्रोह नियन्त्रण गर्न 'रेड करिडोर' भनिने क्षेत्रमा ठूलो मात्रामा सुरक्षा बल तैनाथ गरेपछि आन्दोलन कमजोर हुँदै गएको छ।

सरकारले उक्त क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि पूर्वाधार विकास र सामाजिक परियोजनामा व्यापक लगानी गरेको छ। यसले विद्रोहीहरूको आधार क्षेत्र कमजोर बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट