टर्कीले सिरियालाई फेरि विभाजन हुन दिने छैन : एर्दोआन
टर्कीका राष्ट्रपति रेसेप तैयिप एर्दोगनले मङ्गलबार सिरियालाई फेरि कहिल्यै विभाजित हुन दिइन नहुने भन्दै टर्कीले आफ्नो क्षेत्रलाई खतरा पार्ने कुनै पनि व्यक्तिविरुद्ध कारबाही गर्ने बताएका छन् ।
“अबदेखि हामी सिरियालाई फेरि विभाजित हुन दिन सक्दैनौँ... सिरियाली जनताको स्वतन्त्रता, नयाँ प्रशासनको स्थिरता र यसको भूमिको अखण्डतामाथि कुनै पनि आक्रमण भए हामी त्यसका विरुद्धमा उभिनेछौँ” उनले भने ।
सिरियाको ‘क्षेत्रीय अखण्डता’ का लागि आफ्नो समर्थन दोहोर्याउँदै असदको निष्कासनपछि गोलान हाइट्समा संयुक्त राष्ट्रद्वारा नियन्त्रित बफर जोनमा इजरायली सेना प्रवेश गरेपछि टर्कीको विदेश मन्त्रालयले यसअघि इजरायलको निन्दा गरेको थियो ।
“सिरियाली जनताले धेरै वर्षदेखि चाहेको शान्ति र स्थिरता प्राप्त गर्ने सम्भावना देखा परेको यो संवेदनशील अवधिमा इजरायलले फेरि एक पटक आफ्नो कब्जा गर्ने मानसिकता प्रदर्शन गरिरहेको छ”, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
गोलान हाइट्स सिरियाको दक्षिणपश्चिमी किनारमा रहेको पहाडी पठार हो । यसको अधिकांश भाग सन् १९६७ को छ दिने युद्धको समयमा इजरायलले कब्जा गरेको थियो र पछि सामेल गरेको थियो ।
गोलान हाइट्सलाई सिरियाली पक्षबाट संयुक्त राष्ट्र–नियन्त्रित बफर जोनद्वारा अलग गरिएको छ । यहाँ इजरायली सेना सप्ताहन्तमा प्रवेश गरेको थियो ।
इजरायलका शीर्ष कूटनीतिज्ञ गिडियन सारले ‘सुरक्षा कारण’ का लागि यो कदम ‘सीमित र अस्थायी कदम’ भएको बताएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस