ओलीको चीन भ्रमण "सिन्को पनि नभाँचेको" भ्रमण भयो - प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै गरेको चीन भ्रमणलाई लिएर गम्भीर आलोचना गरेका छन्। चितवनमा मंगलबार आयोजित खबरदारी सभामा बोल्दै प्रचण्डले ओलीले आफ्नो अघिल्लो कार्यकालमा भएका समझदारीलाई फोटोकपी गरी प्रचार गरेको दाबी गरे।
प्रचण्डले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा नेपालले प्रवेश गर्ने निर्णय आफ्नो दोस्रो कार्यकालमा भएको बताए। उनले भने, “मैले पोहोर साल चीन भ्रमणमा जाँदा बीआरआईको कार्यान्वयन फ्रेमवर्कमा हस्ताक्षर गर्न सहमति गराएको थिए। अहिलेका प्रधानमन्त्रीले त्यसैलाई दोहोर्याएर आफ्नो उपलब्धि भनेर देखाउनुभएको छ।”
प्रचण्डले ओलीको हालको भ्रमणलाई "सिन्को पनि नभाँचेको" भ्रमणको संज्ञा दिए। "केपी ओलीले नयाँ कुनै पनि सहमति गरेका छैनन्। तर, मैले गरेका सहमति र समझदारीलाई मान्यता दिएकोमा उहाँलाई धन्यवाद छ," उनले थपे।
प्रचण्डले भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्नु नेपालका लागि दूरगामी महत्त्वको विषय भएको बताएका छन्। उनले ओलीप्रति केही खुसी र केही दया व्यक्त गर्दै आफ्नो नेतृत्वमा भएका उपलब्धिहरूलाई गलत रूपमा प्रस्तुत नगर्न आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस