च्याउ बेचेर वार्षिक पच्चीस लाख आम्दानीगर्दैं डडेल्धुराका जोशी
अमरगढी नगरपालिका–२ मौरडाका खेमराज जोशीले छ वर्षअघि रु दुई लाख ५० हजार लगानी गरेर व्यावसायिक च्याउखेती सुरु गरेका थिए । उनले वार्षिक च्याउ बिक्री गरेर वार्षिक रु २० देखि रु २५ लाखसम्म आम्दानी गर्दै आएका छन् ।
देशमा रोजगारी नभएको भन्दै कतिपय युवा रोजगारीको खोजीमा विदेशिएका बेला जोशीले वैदेशिक रोजगारी छाडेर कृषि पेसामा भविष्य खोजिरहेका छन् । विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्र हुने भन्दै स्वदेशमा स्वरोजगार बन्न कृषि पेसातर्फ आकर्षित भएको उनले बताए ।
जोशी अहिले ३३ वर्षका भए । कक्षा १२ सम्म अध्ययन गरेपछि विदेश जाने योजनासहित काठमाडौँ गएको जोशीले सुनाए । काठमाडौँ रहँदा विभिन्न किसिममा कृषि फार्महरूको अवलोकन गरेपछि च्याउखेती गर्ने योजना बनाएर गाउँ फर्किएको उनले बताएका छन् । अहिले परिवारको सबै खर्च कटाएर वार्षिक रु आठ लाखसम्म बचत हुने गरेको उनले जानकारी दिए ।
दुई रोपनी जग्गा भाडामा लिएर च्याउको बीउ उत्पादनका साथै खेतीसमेत गरिरहेको कृषक जोशीले बताएका छन् । छ वर्षअघि सुरु भएको च्याउखेतीबाट उहाँ अहिले जिल्लाको नमूना कृषकका रूपमा स्थापित भएका छन् ।
च्याउखेतीमा भविष्य राम्रो देखेर आफू लागेको जोशीले बताए । “पहिले च्याउको बीउ लिन काठमाण्डौँ जानुपर्ने बाध्यता थियो । अहिले आफैँले फार्ममा उत्पादन गरिरहेको छु”, उनले भने , “अधिकांश साथीहरू रोजगारीका लागि भारतलगायत तेस्रो मुलुक पलायन भएका छन् । आफू कृषि पेसामा रमाइरहेको छु ।”
उत्पादित च्याउ स्थानीय बजारमा खपत हुने जनाउँदै जोशीले बजारीकरणको समस्या नरहेको बताएका छन् । एकपटकमा तीन सय किलोसम्म च्याउ बिक्री हुने उनले जानकारी दिए । कम लगानीमा मनग्य आम्दानी लिन सकिने बताउँदै उनले जीविकोपार्जनका लागि युवा विदेश जानुभन्दा स्वदेशमा नै स्वरोजगार बन्न सकिने उल्लेख गर्नुभयो ।
“डडेल्धुराको च्याउ सुदूरपश्चिमका पहाडी जिल्लासहित तराई पनि पठाउने गरेको छु”, जोशीले भने , “वर्षमा तीन पटक च्याउ उत्पादन गर्न सकिने भएकाले यसबाट प्रशस्त लाभ लिन सकिन्छ ।” च्याउखेतीबाट सबै खर्च कटाएर वार्षिक रु सात लाखसम्म बचत भइरहेको उनले जानकारी दिए ।
“विदेशमा लगानी गर्ने श्रमले स्वदेशमा दोब्बर आम्दानी हुने रहेछ । अहिले प्रतिकिलो रु दुई सयका दरले च्याउ बिक्री गरिरहेको छु”, जोशीले भने । फार्ममा अहिले सात जनालाई रोजगारी दिएको भन्दै उनले आगामी दिनमा च्याउखेती विस्तार गर्दै लैजाने योजना रहेको उनले बताएका छन् ।
स्थानीय सरकार तथा सरोकार भएका निकायले युवालाई स्वरोजगारका अवसर सृजना गर्न, सीप विकास गर्न तालिमसहित आर्थिक, प्राविधिक सहयोग गर्नुपर्नेमा जोशीले जोड दिए । स्थानीयस्तरमा आम्दानीका स्रोत बनाउनसके युवाको विदेश पलायनदरमा कमी आउने उनको बुझाइ छ ।
तपाईको प्रतिक्रिया दिनुहोस