स्याङ्जा न्यायिक समाजद्वारा सम्मान कार्यक्रम सम्पन्न
स्याङ्जा न्यायिक समाजको आयोजनामा बधाई तथा सम्मान कार्यक्रम नेपाल बार एसोसिएसनको सभाहल, काठमाडौंमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा स्याङ्जा जिल्लाबाट कानुन र न्याय क्षेत्रमा सक्रिय न्यायाधीश, कानुन व्यवसायी, तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका न्यायाधीश तिल प्रसाद श्रेष्ठ हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रूपमा सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र टेक प्रसाद ढुंगाना, न्याय परिषद्का पूर्व सदस्य खेम नारायण ढुंगाना, उच्च तथा जिल्ला अदालतका न्यायाधीश, सर्वोच्च अदालतका रजिष्ट्रार बिमल पौडेललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सर्वोच्च अदालतमा नियुक्त भएका न्यायाधीशद्वय सारङ्गा सुवेदी र टेक प्रसाद ढुंगानाका साथै अन्य उच्च तथा जिल्ला अदालतका न्यायाधीशहरू, रजिष्ट्रार पदमा बढुवा भएका बिमल पौडेल, र उच्च अदालत बार एसोसिएसन पाटनको कार्यसमिति सदस्यमा निर्वाचित समाजकी कोषाध्यक्ष विमला कुमारी शर्मालाई सम्मान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि न्यायाधीश तिल प्रसाद श्रेष्ठले कानुन व्यवसायीलाई न्यायालयको प्रमुख हिस्सा भन्दै "न्यायको मन्दिरमा, कानुन व्यवसायी न्यायका पुजारी हुन्। न्याय कानुन व्यवसायीमार्फत देख्छ, र फैसलाले बोल्छ," भन्ने अभिव्यक्ति दिएका थिए।
त्यसैगरी, न्यायाधीशद्वय सुवेदी र ढुंगानाले न्यायिक समाजलाई थप रचनात्मक कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए। न्याय परिषद्का पूर्व सदस्य खेम नारायण ढुंगानाले न्यायपालिकामा स्याङ्जालीहरूको ठूलो बर्चस्व रहेको र विकृति–विसङ्गति हटाउन स्याङ्जालीहरुकै अग्रसरता जरुरी रहेको धारणा व्यक्त गरेका छन्।
कार्यक्रममा वरिष्ठ अधिवक्ता गौ बहादुर आले, उपेन्द्रराज पौडेल, उच्च अदालतका न्यायाधीश कृष्णराम कोइराला, र जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मालगायतका वक्ताहरूले न्यायिक समाजको योगदानलाई उच्च मूल्याङ्कन गरेका थिए।
स्याङ्जा न्यायिक समाजका अध्यक्ष अधिवक्ता मदन रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव अधिवक्ता हुमबहादुर खत्रीले गरेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस