शासकीय स्वरूप र निर्वाचन प्रणाली बदल्नुपर्छ - अध्यक्ष प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक कोर्स बदल्न शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
गोरखा-काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, र विज्ञमन्त्रीको अवधारणामा आधारित प्रणालीले मात्रै जनताको गणतन्त्र सुदृढ गर्न सकिने बताए। उनले माओवादीको चुनबाङ बैठकको स्मरण गर्दै गणतन्त्रलाई यथास्थितिमा राख्न र जनताको गणतन्त्र बनाउने शक्तिबीचको टकरावको अनुमान आज साकार हुँदै गरेको उल्लेख गरेका छन् ।
अध्यक्ष प्रचण्डले परिवर्तन र राष्ट्रप्रति इमानदार शक्ति माओवादी नै रहेको जनताले बोध गर्न थालेको र यसले देशभर सकारात्मक प्रभाव पार्ने बताए। उनले माओवादी जनतासँग जोडिने अभियानमा फर्किएको र केही जिल्लामा २०६४ सालकै अवस्था फर्किन थालेको जिकिर गरे।
अध्यक्ष प्रचण्डले माओवादी विभाजनको शृङ्खला रोकिएर एकताको अभियान सुरु भएको बताएका छन् । “अब कोही नेताले मात्रै रोकेर पार्टीको कार्यकर्ता र जनता रोकिँदैनन्,” उनले भने। पार्टीको वैचारिक र नेतृत्वको केन्द्रिकरणले समाजवादी अभियानलाई प्रभावकारी बनाउने प्रचण्डको विश्वास छ।
अध्यक्ष प्रचण्डले गोरखा जिल्लाले जनयुद्धदेखि हालसम्म माओवादी नेतृत्वप्रति गरेको योगदानको प्रशंसा गरेका थिए । उनले गोरखाले २०७९ मा नौ स्थानीय तह जित्दै इतिहास बनाएको र उपनिर्वाचनमा पनि हारेको ठाउँमा जितेर नयाँ इतिहास कायम गरेको बताएका छन् ।
अधिवेशनको अवसरमा अध्यक्ष प्रचण्डले गोरखा नगरपालिका–५ का उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष विष्णु रानालाई सम्मान गर्दै पार्टीको आगामी अभियानमा उत्साहपूर्ण सहभागिताको आग्रह गरेका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस