रवि लामिछानेको स्थानान्तरण अमानवीय - शेखर कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राति १२ बजे चितवनबाट पोखरा स्थानान्तरण गरेको विषयमा असन्तुष्टि व्यक्त गरेका छन्। शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले यसलाई अमानवीय व्यवहार भनेका छन्।
कोइरालाले भने, "अदालतको न्यायिक प्रक्रियामा कुनै टिप्पणी गर्न हुँदैन। तर, राति १२ बजे उठाएर लानु मानव अधिकारविरोधी र अमानवीय काम हो। यो रवि जीको मात्र कुरा होइन, कसैलाई पनि यस्तो गर्नु हुँदैन।"
लामिछानेलाई सहकारी प्रकरणमा मंसिर १९ गते राति चितवनबाट पोखरा स्थानान्तरण गरिएको थियो। प्रहरीले सुरक्षाको कारण देखाए पनि कोइरालाले प्रशासनको यस्तो कदमलाई असहनीय र अनावश्यक ठहराएका छन्।
नेता कोइरालाले नेपाली कांग्रेस मानव अधिकार र लोकतन्त्रप्रति प्रतिबद्ध पार्टी भएको उल्लेख गर्दै सबै पक्षले अदालतको प्रक्रियामा सहकार्य गर्नुपर्ने धारणा राखे।
यसैक्रममा, कोइरालाले पार्टीको मोरङमा आयोजना गरिएको पालिका स्तरीय भेलामा केन्द्रको पत्रबारे असहमति जनाएका छन्। उनले भने, "नेपाली कांग्रेस रेजिमेन्टेड पार्टी होइन। यो एमालेजस्तो, अध्यक्षले भनेको मान्ने पार्टी पनि होइन।"
कोइरालाले महाधिवेशनको समय नजिकिँदै सभापतिको उम्मेदवार हुने कुरा स्पष्ट पारेका छन्। उनले महामन्त्री गगन थापासँग कुनै खटपट नभएको दाबी गरे।
"१३७ पालिकामध्ये ११३ पालिकाका सभापतिहरू सहभागी भेलालाई अवैधानिक भन्दै केन्द्रले पत्र पठाउनु कस्तो परिपाटी हो?" उनले प्रश्न गरे।
साथै, ओली नेतृत्वको सरकारको बारेमा कुरा गर्दै कोइरालाले तत्काल सरकारको परिवर्तन नहुने बताए। उनले संविधान संशोधन र सुशासनको मुद्दामा सरकारको असफलता स्पष्ट गरेका छन्। "संविधान संशोधन दुई पार्टी मिलेर मात्र हुँदैन, सबैलाई मिलाएर लैजान सक्नुपर्छ।"
तपाईको प्रतिक्रिया दिनुहोस