मेयर हर्क साम्पाङविरुद्ध प्रहरीमा उजुरी, विवादास्पद शैलीले स्वतन्त्रको राजनीतिमा धक्का
महासंघले मेयरको ‘म नै कानून हुँ’ शैलीको अभिव्यक्तिलाई लोकतान्त्रिक समाजमा अस्वीकार्य ठहर गरेको छ।
धरानका मेयर हर्क साम्पाङविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको छ। पत्रकार महासंघ सुनसरीले मेयर साम्पाङको धम्कीपूर्ण अभिव्यक्तिप्रति आपत्ति जनाउँदै शान्ति सुरक्षा र आवश्यक कानूनी कारबाहीको मागसहित उजुरी दर्ता गरेको हो।
मेयर साम्पाङले दुई दिनअघि सामाजिक सञ्जालमार्फत नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राई र केन्द्रीय पार्षद् गोपाल दाहाललाई धम्की दिएका थिए। उनले आफू नियमित रूपमा भेला हुने पसलमा उनीहरूलाई बिहीबार उपस्थित हुन आदेशसमेत दिएका थिए।
गोपाल दाहालले खोज पत्रकारिता केन्द्रका लागि लेखेको ‘हर्क साम्पाङको मौन मौजी शासन: बेथितिको दलदलमा धरान’ शीर्षकको समाचारपछि मेयर साम्पाङले पत्रकारविरुद्ध आक्रामक शैली अपनाएका थिए।
पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राई र पार्षद् गोपाल दाहालले साम्पाङको अभिव्यक्तिलाई ‘अराजक र अभद्र’ भनी टिप्पणी गर्दै यसले लोकतान्त्रिक मूल्यमान्यता र प्रेस स्वतन्त्रतामाथि चुनौती खडा गरेको बताएका छन्। महासंघले मेयरको ‘म नै कानून हुँ’ शैलीको अभिव्यक्तिलाई लोकतान्त्रिक समाजमा अस्वीकार्य ठहर गरेको छ।
धरानका मेयर साम्पाङ यसअघि पनि आफ्नो ‘अमर्यादित व्यवहार’ र ‘अराजक अभिव्यक्ति’का कारण विवादमा परेका थिए। यसपटकको घटनाले उनको राजनीतिक छविमा थप नकारात्मक असर पर्ने आँकलन गरिएको छ।
विश्लेषकहरूले मेयर साम्पाङको व्यवहारले वैकल्पिक राजनीतिक अभियानलाई नै घाटा पुर्याउने चेतावनी दिएका छन्। मतदातामाझ स्वतन्त्र र नयाँ राजनीतिक धारप्रति विकसित विश्वास कमजोर बन्न सक्ने उल्लेख गर्दै विश्लेषकहरूले यसले सिंगो देशको राजनीतिक प्रवृत्तिमा नकारात्मक प्रभाव पार्न सक्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस