विवाह पञ्चमी पर्वले राष्ट्रिय एकतालाई प्रोत्साहन पुर्याउँछ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले विवाह पञ्चमी पर्वको महत्त्वलाई स्वीकार्दै यसले सामाजिक र राष्ट्रिय एकतालाई प्रोत्साहन पुर्याउने विश्वास व्यक्त गरेका छन्। उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइलाई सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको शुभकामना दिँदै यस पर्वको मौलिकता र महत्वको चर्चा गरेका छन्।
विवाह पञ्चमी पर्व भगवान श्रीराम र माता सीताको दिव्य विवाहको सम्झनामा मनाइन्छ। उपराष्ट्रपति यादवले यस पर्वले प्रेम, आदर, सदाचार, विश्वास र सद्भावको भावना उजागर गर्ने र मानिसलाई यी नैतिक मूल्यहरूको अनुशरण गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार यस पर्वले धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिकोणबाट अति महत्वपूर्ण स्थान राख्दछ, र यसको परंपरा, विधि र अनुष्ठानहरु मौलिक र ऐतिहासिक छन्।
उपराष्ट्रपति यादवले यस पर्वलाई एक ऐतिहासिक अवसरको रूपमा लिइरहनु पर्ने भन्दै, विवाह पञ्चमी पर्वले समाजमा सत्य र नैतिक मूल्यहरूको प्रोत्साहन दिन्छ। उनले भने, “भगवान राम र माता सीताको जीवनबाट हामीलाई पारिवारिक र सामाजिक जीवनमा नैतिक मूल्यहरू अवलम्बन गर्न अभिप्रेरित गर्न सक्नु पर्छ।”
विवाह पञ्चमी पर्व विशेषगरी मधेश प्रदेशको राजधानी जनकपुरधाममा महोत्सवका रूपमा मनाइन्छ, जुन सात दिनको लामो पर्व हुन्छ। यस महोत्सवको शुरुवात राम-सीताको प्रतिमा र झाँकीसहित ‘नगरदर्शन’बाट हुन्छ र ‘फूलबारी लीला’, ‘धनुष यज्ञ’, ‘तिलकोत्सव’, ‘मटकोर’, ‘राम-सीताको स्वयंवर–विवाह’ अनुष्ठान गर्दै अन्तिम दिन ‘रामकलेवा’ सम्पन्न हुन्छ।
यस अवसरमा सीता र रामको विशेष पूजाअर्चना गर्दै जनविश्वास अनुसार परिवार, समाज र देशमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ।
उपराष्ट्रपति यादवले विवाह पञ्चमीलाई सामाजिक एकता र सांस्कृतिक समृद्धिको प्रतीकको रूपमा हेर्ने र यसले नेपाल र भारत बीचको ऐतिहासिक, सांस्कृतिक र धार्मिक सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर प्रदान गर्ने कुरा पनि व्यक्त गरेका छन् । उनले जनकपुरधाममा राम-सीताको विवाहको झझल्को दिने परम्परा र अयोध्याबाट आएका श्रद्धालु भक्तजनहरूको जन्तीको आगमनलाई नेपाल र भारत बीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने महत्त्वपूर्ण कदमको रूपमा हेरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस