गण्डकी सरकार कसैको निजी कम्पनी हैनः सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङ
गण्डकी प्रदेशमा सत्तारुढ दलहरू बीचको किचलोप्रति सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङले असन्तुष्टि व्यक्त गरेका छन्। लामो समयसम्म सरकार विस्तार हुन नसकेको विषयलाई लिएर उनले शनिबार पोखरामा असन्तुष्टि जनाएका हुन् ।
गण्डकी सरकार विस्तार र भागबन्डाका विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले भने, “कहीँ नभएको जात्रा गण्डकीमा भएको छ।” उनले असन्तुष्टि व्यक्त गरेको मुख्य विषय यसअघिकै सरकारमा सहभागी भएका दिपक मनाङे र फणीन्द्र देवकोटालाई पुन: सरकारमा सहभागी गराउनु हो।
बिहीबार कांग्रेस-एमालेबीच ९ मन्त्रालय बनाउने सहमति हुँदा उनीहरू दुवै मन्त्री कायमै हुने भएका छन्। मन्त्री गुरुङले केन्द्रकै समीकरण अनुसार प्रदेश सरकार गठन हुनुपर्ने भन्दै दु:खमा साथ दिएको भनेर समीकरणभन्दा बाहिरकोलाई मन्त्री बनाउन नहुने तर्क गरे।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गलत काम गरिरहेको बताउँदै मन्त्री गुरुङले गण्डकी सरकार कसैको निजी कम्पनी नभएको बताए। उनले भने, “मलाई दु:खमा साथ दिएको भन्नुहुन्छ। यो उहाँको निजी शासन हो र? उहाँले प्राइभेट कम्पनी चलाएको होइन होला नि!”
मन्त्री गुरुङले मन्त्रीको संख्या बढाउन भएको सहमतिमा पनि असन्तुष्टि व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस