अहिले सम्म यी ठाउँहरुमा सवारी दुर्घटनामा सात जनाको मृत्यु
देशभरका विभिन्न स्थानमा बुधबार राति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको ज्यान गएको छ भने केही घाइते भएका छन्।
काठमाडौं:
काठमाडौं महानगरपालिका-३२, जडिबुटीस्थित सडकमा बा.२० च १६०५ नम्बरको कार र लु.४८ प ७११० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक बुद्धिसागर चापागाईको मृत्यु भयो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा ट्रमा सेन्टरमा निधन भएको हो।
जाजरकोट:
भेरी नगरपालिका-१०, नुवागाउँमा बोलेरो जिप सडकबाट करिब ७०० मिटर तल खस्दा चालक मनोज केसी र सवार मिथुन हमालको ज्यान गयो। घाइते एकजनाको नेपालगंजको नर्सिङ होममा उपचार भइरहेको छ।
सिराहा:
सिरहा नगरपालिका-११, भलुवाहीमा अटोको ठक्करबाट पैदलयात्री निरज कुमार कामतीको मृत्यु भयो। गम्भीर घाइते कामतीको उपचारका क्रममा प्रादेशिक अस्पतालमा निधन भयो। अटो चालक फरार छन्।
कपिलवस्तु:
कृष्णनगर नगरपालिका-१, मोडाहामा मोटरसाइकलको ठक्करले साइकलयात्री बिरदलाल नाउँको ज्यान गयो। दुर्घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नवलपरासी पूर्व:
गैंडाकोट नगरपालिका-४ मा मोटरसाइकल दुर्घटनामा पंकज ज्ञवालीको मृत्यु भयो। मोटरसाइकल अनियन्त्रित भई भएको दुर्घटनामा अन्य एक जना गम्भीर घाइते भएका छन्।
कैलाली:
लम्कीचुहा नगरपालिका-१० मा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकतन चौधरीको ज्यान गयो। दुर्घटनामा मोटरसाइकलमा सवार एक जना गम्भीर घाइते छन्। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले सबै घटनाको अनुसन्धान गरिरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस