बेलायतमा चिनी बढी भएका खाद्य पदार्थका टिभी विज्ञापनमाथि दिउँसो प्रतिबन्ध
बेलायत सरकारले बालबालिकामा बढ्दै गएको मोटोपनाको समस्या नियन्त्रण गर्न चिनी बढी भएका खाद्य पदार्थका टिभी विज्ञापनमाथि दिउँसो प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
सरकारले मङ्गलबार सार्वजनिक गरेको नयाँ नीति अनुसार ‘कम स्वस्थ’ खाद्य र पेय पदार्थका विज्ञापनहरू राति ९ बजेपछि मात्र प्रसारण गर्न पाइनेछ। यो नियम अर्को वर्ष अक्टोबरदेखि लागू हुनेछ।
बेलायती राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार, अहिले १० मध्ये एक चार वर्षका बालबालिका मोटो छन्। पाँचमध्ये एक जना पाँच वर्षका बालबालिकामा अत्यधिक चिनी खाँदा दाँत क्षयको समस्या देखिएको छ।
प्रतिबन्धित खाद्य पदार्थहरू:
सरकारले विज्ञापनमा प्रतिबन्ध लगाइएका खाद्य पदार्थको सूची तयार पारेको छ। यसमा ग्रानोला, मुसली, क्रोइसन्ट, प्यानकेक, वेफल, चिनी धेरै भएका नास्ता, बम्बे मिक्स, चना र दालमा आधारित क्रिस्प, ऊर्जा पेय, ह्याम्बर्गर र चिकन नगेट्स समेत छन्।
तर, स्वस्थ विकल्पका रूपमा प्राकृतिक दलिया ओट्स र चिनीबिनाको दही जस्ता उत्पादनहरूलाई यो नियमले प्रभावित पार्ने छैन।
स्वास्थ्य मन्त्रालयका अनुसार, यो कदमले एक वर्षमा करिब २० हजार बालबालिकाको मोटोपना रोक्न सक्ने विश्वास गरिएको छ।
स्वास्थ्यमन्त्री वेस स्ट्रीटिङले भने, “मोटोपनाले बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन प्रभाव पार्छ र एनएचएसलाई ठूलो आर्थिक दबाब दिन्छ। यो निर्णयले टिभी र अनलाइनमा बालबालिकालाई लक्षित जङ्क फूड विज्ञापनहरूलाई रोक्नेछ।”
तपाईको प्रतिक्रिया दिनुहोस