टोकियोमा सरकारी कर्मचारीलाई हप्तामा तीन दिन बिदा दिने प्रस्ताव
टोकियोका गभर्नर युरिको कोइकेले राजधानीका सरकारी कर्मचारीका लागि चार दिनको कार्यसप्ताह सुरु गर्ने प्रस्ताव गरेका छन् । यो कदम जापानको न्यून जन्मदरको समस्या समाधान गर्दै काम र जीवनको सन्तुलन कायम गर्न र अभिभावकत्वलाई प्रोत्साहन गर्न ल्याउन लागिएको हो।
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले न्यून जन्मदरलाई “शान्त सङ्कटकालीन अवस्था” को संज्ञा दिँदै लचिलो कार्यसमय जस्ता नीतिहरूको आवश्यकता औँल्याएका छन् ।
चार दिनको कार्यसप्ताहको प्रस्ताव
गभर्नर कोइकेले आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीहरूलाई हप्तामा तीन दिन बिदा दिने विकल्प प्रस्तुत गर्ने तयारी गरेका छन्। टोकियो महानगर प्रशासनले लचिलो कार्य समय र थप सुविधाहरूको मस्यौदा प्रस्ताव टोकियो विधानसभामा पेश गर्ने योजना बनाएको छ।
यो नीतिले विशेषतः कामकाजी महिलाहरूको जीवन सजिलो बनाउने लक्ष्य राखेको छ। महिलाहरूलाई घरायसी काम, बच्चा हुर्काउने जिम्मेवारी, र आफन्तको हेरचाह गर्नुपर्ने परम्परागत दबाबले जन्मदरमा गिरावट आएको मानिन्छ।
सची इकेगामीले एएफपीसँगको कुराकानीमा भने, "सिफ्टमा काम गर्ने कर्मचारीबाहेक सरकारी कर्मचारीले हप्तामा तीन दिन बिदा लिन सक्नेछन्। साथै, प्रति महिना थप १५५ घण्टा बिदाको सुविधा हुनेछ।" साना बच्चा हुर्काउने कर्मचारीका लागि कामको घण्टा दुई घण्टा छोट्याउने प्रस्ताव पनि समेटिएको छ।
जापानको जनसंख्या लगातार १५ वर्षदेखि घटिरहेको छ। कठोर आप्रवासन नियमले श्रम अभाव थप जटिल बनाएको छ। यस परिस्थितिमा, काम र जीवनको सन्तुलनलाई प्रोत्साहन गर्ने नीति जन्मदर वृद्धिका लागि महत्वपूर्ण कदम मानिन्छ।
गभर्नर कोइकेले आफ्नो तेस्रो कार्यकालमा मुद्रास्फीति, जन्मदरको गिरावट, र सामाजिक कल्याणमा सुधारका लागि ठोस कदम चाल्ने प्रतिबद्धता जनाएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस