Techie IT

फेरि एकपटक नेपालमा नयाँ क्रान्ति आवश्यक - प्रचण्ड

अबको क्रान्ति पहिलेजस्तो सशस्त्र संघर्षको होइन, बरु जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन अघि बढाउने हुनेछ।


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले फेरि एकपटक नयाँ क्रान्तिको आवश्यकता रहेको बताएका छन्। गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो धारणा व्यक्त गरेका हुन्।

जनयुद्धको उत्कर्षको क्रममा पार्टीले गरेको विश्लेषणलाई सम्झाउँदै अध्यक्ष प्रचण्डले भने, "हामीले त्यसबेला भनेका थियौं कि देश गणतन्त्रमा जान्छ, तर प्रतिक्रियावादीहरूले त्यसलाई आफ्नो इच्छाअनुसार बनाउन खोज्नेछन्, र हामीलाई पनि आफ्नो इच्छाअनुसार बनाउनु पर्नेछ। त्यस समय जनताको गणतन्त्रका लागि अर्को संघर्ष आवश्यक पर्नेछ भन्ने अनुमान गरेका थियौं, र अब त्यो बिन्दु नजिक आएको छ।"

प्रचण्डले भने,  अबको क्रान्ति पहिलेजस्तो सशस्त्र संघर्षको होइन, बरु जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन अघि बढाउने हुनेछ। उनले लाखौं जनतालाई सडकमा उतारेर संविधान लेखनको क्रममा उठेका मुद्दाहरूलाई अघि बढाउने र गणतन्त्रलाई जनताको व्यवस्थामा परिणत गर्ने अभियानलाई पूर्णता दिने कुरा पनि बताएका छन् ।

नयाँ क्रान्तिका लागि माओवादीलाई एकताबद्ध गर्दै माओवादीको आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुवात गरिसकेको बताए। 

उनले भने, "मैले प्रतिनिधिसभाबाट फेरि विद्रोह सुरु गरिसकेँ। अब क्रान्तिकारी योद्धाहरूलाई संगठित गर्ने र सबै क्रान्तिकारी पार्टीहरूलाई एकजुट गर्दै विशाल शक्ति ल्याएर षड्यन्त्रकारीहरूलाई परास्त गर्न म जनयुद्ध लडेका पार्टी र योद्धाहरूलाई अपिल गर्छु।"

प्रचण्डले माओवादी जनयुद्धलाई इतिहासको सबैभन्दा व्यवस्थित विद्रोह भन्दै, दलाल, नोकशाह, पुँजीपति, बिचौलिया जस्ता तत्त्वहरूको विरोधमा पुनः संघर्ष गर्नु पर्ने बेला आएको बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट