पार्टीको सुशासन र आर्थिक समृद्धिको एजेण्डालाई जनताले अनुमोदन गरे - प्रचण्ड
उपनिर्वाचनले प्रकट गरेको जनमतलाई पार्टीको एकल पहिचान र प्रतिष्पर्धाका लागि प्राप्त जनादेशको रूपमा लिने उनले उल्लेख गरे।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले स्थानीय तह उपनिर्वाचन २०८१ मा जनताबाट प्राप्त समर्थन र सफलताप्रति आभार व्यक्त गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन्।
अध्यक्ष दाहालले पार्टीलाई मतदान गर्ने सम्पूर्ण मतदाताहरू, निर्वाचनमा खटिएका नेता, कार्यकर्ता, समर्थक, निर्वाचन आयोग, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, र सञ्चारकर्मीप्रति धन्यवाद ज्ञापन गरेका छन्। उनले निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिंदै पार्टीको सुशासन, सामाजिक न्याय, र आर्थिक समृद्धिको एजेण्डालाई जनताले अनुमोदन गरेको बताए।
अध्यक्ष दाहालले स्थानीय तहलाई संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने माध्यमका रूपमा परिभाषित गर्दै जनताको जीवनस्तर उकास्ने जिम्मेवारी निर्वाचित प्रतिनिधिहरूको काँधमा रहेको उल्लेख गरे। पार्टीले यो उपनिर्वाचनलाई भ्रष्टाचारविरोधी र सुशासनसमर्थक नयाँ सङ्कल्पको रूपमा लिएको उनले बताए।
उनले अवाञ्छित गठबन्धनहरूलाई चिर्दै प्राप्त भएको जनसमर्थनलाई पार्टीका एजेण्डाप्रतिको जनताको विश्वासको प्रमाण मान्दै पार्टीले सुशासन, सामाजिक न्याय, र आर्थिक समृद्धिका मूल ध्येयहरूमा केन्द्रित रहन प्रतिबद्ध रहेको स्पष्ट गरे।
अध्यक्ष दाहालले माओवादी केन्द्रको नेतृत्वमा रहेका स्थानीय तहहरूले उत्कृष्ट कार्य सम्पादन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा यो अभियानलाई थप बलियो बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले जनताको घरदैलोमा सेवा पुर्याउने लक्ष्यसहित सबै जनप्रतिनिधिहरूलाई जनसेवामा पूर्ण रूपले परिचालित गरिने जानकारी दिए।
उपनिर्वाचनले प्रकट गरेको जनमतलाई पार्टीको एकल पहिचान र प्रतिष्पर्धाका लागि प्राप्त जनादेशको रूपमा लिने उनले उल्लेख गरे। उनले जनताको विश्वासलाई थप सुदृढ गर्दै जीवनस्तर परिवर्तनका अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिज्ञा गरे।
यो उपनिर्वाचनले माओवादी केन्द्रको सुशासन अभियान र सामाजिक रूपान्तरणको यात्रामा नयाँ ऊर्जा थपेको पार्टीको ठम्याइ छ।
तपाईको प्रतिक्रिया दिनुहोस