ललितपुरमा ट्राफिक चेकिङका क्रममा दुर्घटना: एकको मृत्यु र तीन घाइते
ट्राफिक प्रहरीले राडार गनको माध्यमबाट स्पिड चेकिङ गर्दा, मोटरसाइकलको गति अत्यधिक भएको देखिएपछि रोकेर नियन्त्रण गर्न खोज्दा चालकले रेलिङमा ठोक्किएका थिए।
ललितपुर महानगरपालिका–१५ स्थित चक्रपथ सडक नजिकै बीएण्डबी अस्पतालकाे आसपास शुक्रवार मध्यान्ह ट्राफिक प्रहरीले गरेको स्पिड चेकिङ स्थलमा दुर्घटना भएको छ। ट्राफिक प्रहरीले एक मोटरसाइकल रोक्ने प्रयास गर्दा उक्त मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको हो।
दुर्घटनामा, १६ वर्षीय स्नेहा बस्यालको घटनास्थलमा मृत्यु भएको छ। स्नेहा तनहुँको भिमाद नगरपालिका–५ की स्थायी निवासी थिइन् र हाल पेप्सीकोलामा बस्दै थिइन्। उनले उपचारको क्रममा बीएण्डबी अस्पतालमा दम तोडिन्। मोटरसाइकलको चालक, २८ वर्षीय प्रत्युस थापा कागेश्वरी मनोहरा नगरपालिका–४ का निवासी, गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ र बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार, चालकले मोटरसाइकललाई ९९ स्पिडमा चलाएको थियो। ट्राफिक प्रहरीले राडार गनको माध्यमबाट स्पिड चेकिङ गर्दा, मोटरसाइकलको गति अत्यधिक भएको देखिएपछि रोकेर नियन्त्रण गर्न खोज्दा चालकले रेलिङमा ठोक्किएका थिए। दुर्घटनामा ट्राफिक सहायक हवलदार जनक सिंह भाट पनि घाइते भएका छन् र उनको उपचार नेपाल प्रहरी अस्पतालमा भइरहेको छ।
यस घटनामा प्रहरी अनुसन्धान जारी रहेको जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस