Techie IT

रास्वपाको ओरालो यात्रा: उपचुनावमा कमजोर उपस्थिति

रास्वपाले शहरी मतदाता गुमाउनुका साथै ग्रामीण क्षेत्रमा संगठन निर्माण गर्न नसकेको अवस्थामा यो उपचुनाव उसका लागि थप ओरालो यात्राको थालनी बन्ने देखिन्छ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय राजनीतिमा चुलिएको प्रतिष्ठासँगै अब ओरालो यात्राको संकेत देखाउँदैछ। अघिल्लो उपचुनावमा इलाममा जमानत जोगाउन नसकेको रास्वपाले यो उपचुनावमा संघीय राजधानी काठमाडौँमै उम्मेदवार उठाउन सकेको छैन ।

२०७९ सालको आमनिर्वाचनमा ११ लाखभन्दा बढी मत ल्याएर चौथो ठूलो दल बनेको रास्वपाले यसपटक काठमाडौँको कीर्तिपुर नगरपालिकामा मेयरसहित अन्य स्थानमा उम्मेदवारी दिनसमेत नसकेको छ। कीर्तिपुरजस्तो राजनीतिक महत्वको क्षेत्रमा उम्मेदवार नपाउनु रास्वपाको लोकप्रियता खस्कँदै गएको प्रमाण हो।

उपनिर्वाचनमा ४४ रिक्त पदका लागि भइरहेको प्रतिस्पर्धामा रास्वपाले २६ स्थानमा मात्र उम्मेदवारी दिएको छ। चुनावलाई ‘जनमत परीक्षण’को रूपमा लिने अवसरमा समेत उम्मेदवारी दिन नसक्नुले पार्टीभित्रको सांगठनिक कमजोरीलाई उजागर गरेको छ।

लोकप्रियता गुम्दै रास्वपा
अघिल्ला चुनावमा काठमाडौँमा मनग्य मत पाएको रास्वपाले कीर्तिपुर मेयर पदका लागि अनलाइन दरखास्त खोले पनि मात्र एकजना उम्मेदवारले आवेदन दिए। तर, उनी पनि अन्ततः चुनाव लड्न तयार भएनन्। रास्वपाका नेताहरू लोकप्रिय उम्मेदवार नपाएको भन्दै औपचारिक वक्तव्यमा लाज बचाउन खोजिरहेका छन्।

इलाम उपचुनावमा पनि रास्वपाले माओवादी केन्द्रका कार्यकर्ता मिलन लिम्बूलाई टिकट दिएर प्रचार–प्रसारमा कुनै कसर बाँकी राखेन। तर, लिम्बूले ५ हजार ५० मत मात्र ल्याउँदै चौथो स्थानमा सिमित हुँदा पार्टीको कमजोर अवस्था स्पष्ट भएको थियो।

रास्वपाको लोकप्रियता घट्नुमा सहकारी काण्ड, सांगठनिक संरचनाको अभाव, र मुकुल ढकालजस्ता नेताको राजीनामाका कारण पार्टीभित्र चर्किएको अन्तरविरोध प्रमुख कारक बनेका छन्। विशेषगरी शहरी क्षेत्रमा प्रभाव देखाउँदै आएको पार्टीको यो कमजोर प्रदर्शनले आगामी दिनमा थप चुनौतीहरू सिर्जना गर्न सक्ने संकेत गरेको छ।

विश्लेषकहरूका अनुसार यो उपचुनाव कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। रास्वपाले शहरी मतदाता गुमाउनुका साथै ग्रामीण क्षेत्रमा संगठन निर्माण गर्न नसकेको अवस्थामा यो उपचुनाव उसका लागि थप ओरालो यात्राको थालनी बन्ने देखिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट