पिकेडाँडा र ज्वालामाई मन्दिरमा सञ्चार सुविधाको अभावले पर्यटक मर्कामा
सोलुदुधकुण्ड नगरपालिका–३ मा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य पिकेडाँडा र धार्मिक आस्थाको केन्द्र ज्वालामाई मन्दिरमा कमजोर सञ्चार सुविधाका कारण स्थानीय बासिन्दा र पर्यटकले कठिनाइ झेल्नुपरेको छ। नेपाल टेलिकमको कमजोर नेटवर्क र अन्य सेवा प्रदायकको अनुपस्थितिले यहाँका धार्मिक तथा प्राकृतिक पर्यटक मर्कामा परेका छन्।
पिकेडाँडाको पर्यटकीय महत्व
समुद्री सतहदेखि ४,०६५ मिटर उचाइमा रहेको पिकेडाँडा हिमाली दृश्यावलोकनका लागि प्रख्यात छ। यहाँबाट सगरमाथा, ल्होत्से, मकालु, र चो ओयु हिमालको अद्वितीय दृश्य देख्न सकिन्छ। सुनपानी, चिमल, र लालीगुँरासजस्ता हिमाली वनस्पतिले यस क्षेत्रलाई पर्यटकको आकर्षणको केन्द्र बनाएको छ। हरेक वर्ष करिब १५,००० स्वदेशी र विदेशी पर्यटकले यो क्षेत्र भ्रमण गर्छन्।
तर, सञ्चार सेवाको अभावले पर्यटकलाई कठिनाइ हुँदै आएको पर्यटन व्यवसायी फुर्वा शेर्पा बताउँछन्। उनका अनुसार, “सगरमाथा बेसक्याम्पको तुलनामा सहज पदयात्रा गन्तव्य भए पनि सञ्चार सेवाको कमीले क्षेत्रको पर्यटन विकासमा अवरोध सिर्जना भएको छ।”
सञ्चारको अभाव
सञ्चार सेवाको अभावका कारण पर्यटकले बाटो भुल्ने, सम्पर्कविहीन हुने, र उद्धारमा ढिलाइ हुने समस्या बारम्बार देखिएको होटल व्यवसायी गेलु शेर्पाले बताए। पाँच वर्षअघि एक युवकले सम्पर्कविहीन भएपछि दुर्घटनामा ज्यान गुमाउनु परेको घटनाले समस्या झनै गम्भीर रहेको देखाएको छ।
पिकेडाँडासँगै तामाखानी र लोदिङ गाउँमा पनि सञ्चार सुविधा कमजोर रहेको स्थानीयले गुनासो गरेका छन्।
ज्वालामाई मन्दिरमा पनि समस्या उस्तै
चिन्तन, आस्था, र धार्मिक यात्राका लागि प्रख्यात ज्वालामाई मन्दिरमा हरेक वर्ष करिब ३०,००० भक्तजन आउने गरेका छन्। तर, भरपर्दो सञ्चार सेवाको अभावले भक्तजन र स्थानीय दुवैलाई समस्या भइरहेको छ।
मन्दिर व्यवस्थापन समितिका भिमनारायण श्रेष्ठ भन्छन्, “यत्रो प्रसिद्ध धार्मिक स्थलमा भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउन नसक्नु लज्जास्पद हो।”
सञ्चार सुविधाको अभावले क्षेत्रको पर्यटकीय सम्भावना खुम्चिएको स्थानीयको गुनासो छ। “सञ्चार सेवामा लगानी नगर्नु राज्यको उदासीनता हो,” पिके सामुदायिक वनका अध्यक्ष सन्तबहादुर मगरले भने।
नेपाल टेलिकमका अनुसार, समस्या समाधानका लागि नयाँ टावर स्थापना गर्न बजेट र पूर्वाधार आवश्यक छ। वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पा र पर्यटन व्यवसायी दावा शेर्पाले दिगो समाधानको लागि सबै पक्षले पहल गर्नुपर्नेमा जोड दिएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस