धुलिखेलमा ८४ वर्षीय भिक्षु कुटिए, शाक्यले संसदमा उठाइन् प्रश्न
राष्ट्रिय सभाका सदस्य डाक्टर अन्जान शाक्यले ८४ वर्षीय भिक्षु गुणघोष महास्थविरमाथि धुलिखेलमा भएको सांघातिक आक्रमणको निन्दा गरेकी छन्।

राष्ट्रिय सभाका सदस्य डाक्टर अन्जान शाक्यले ८४ वर्षीय भिक्षु गुणघोष महास्थविरमाथि धुलिखेलमा भएको सांघातिक आक्रमणको निन्दा गरेकी छन्। बिहीबारको राष्ट्रिय सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले भनिन्, ‘नेपालको बुद्धजन्मभूमिमा, परमपूज्य संघउपनायक भिक्षु गुणघोष महास्थविरमाथि बिहीबार भीमसेन टोल, धुलिखेलस्थित पूर्वाराम बिहारमा सांघातिक आक्रमण भएको छ। यो घटना सुनियोजित र अन्तर्राष्ट्रिय रूपमा सम्मानित भिक्षु महास्थविरमाथि भएको कुकर्म हो।’
डाक्टर शाक्यले सरकार र सुरक्षा निकायलाई आक्रमणकारीलाई तत्काल पक्राउ गरी सजाय दिनको माग गर्दै यस्तो घटनाको पुनरावृत्ति नहोस् र भिक्षुहरूको सुरक्षा सुनिश्चित गर्न जोड दिइन्।
भिक्षु गुणघोष महास्थविर लामो समयदेखि ललितपुरको बिहारे बस्दै आएका थिए। धर्मोदय सभाका महासचिव सागरमान बज्राचार्यले पनि आक्रमणको भर्त्सना गर्दै काभ्रे जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेलाई २० वर्षीय आदित्य श्रेष्ठलाई नियन्त्रणमा लिइसकेको र चोरी भएको १ लाख ६५ हजार रुपैयाँसमेत बरामद भएको जानकारी दिएको छ। पक्राउ परेका श्रेष्ठलाई ७ दिनको म्याद लिएर चोरी र डाँका अभियोगमा अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस