Techie IT

आन्तरिक पर्यटकको रोजाइमा पदयात्रा, मर्दी हिमालको सुन्दर फेदमा तिहार


नेपालको आन्तरिक पर्यटनमा उत्साहजनक वृद्धि हुँदै गर्दा पर्वको मौका पारेर धेरै नेपालीले हिमाली पदयात्रा गन्तव्यतर्फ आकर्षित भएका छन्। 

चितवनकी अचर्ना कार्कीले यो तिहार मर्दी हिमालको सुन्दर फेदमा मनाइन्। थाकेका गोडा, लामो यात्रा, र ठूला चट्टानहरूलाई चिर्दै, हिमालको छेउमा पुगेपछि नै कार्कीले पर्वको साच्चै ‘प्राकृतिक’ उत्सव मनाउने अवसर पाएकी थिइन्। परिवार र साथीहरूको साथमा गरेको यो पदयात्रा उनको जीवनमा अद्वितीय बन्यो। “हिमाल नजिक आउँदै जाँदा, थकित शरीरमा थप ऊर्जा र आत्मबल भरिँदै गयो,” उनले आफ्नो अनुभव सुनाइन्।

आन्तरिक पर्यटनको महत्व र यसको प्रभावको थप व्याख्या विराटनगरका प्रज्ञा दाहालले गरे । बैंकको जागिरमा व्यस्त दाहालले वर्षको केही समय देशभित्रकै प्राकृतिक सौन्दर्य र संस्कृति बुझ्न छुट्याउँछन्। “आन्तरिक पर्यटनले स्वदेशप्रति गहिरो अपनत्व जगाउँछ र स्थानीय अर्थतन्त्रलाई उकास्न मद्दत गर्छ,” दाहालले बताए।

यो वर्ष मर्दी ट्रेकमा सपरिवार आन्तरिक पर्यटकको भीड लागेको देखिन्छ। बानेश्वरका विमल भट्टराई हरेक वर्ष आफ्ना छोरीलाई पदयात्रामा लैजान्छन्। उनलाई लाग्छ, घुम्दै सिक्नु, पढ्नुभन्दा गहिरो र प्रभावकारी हुन्छ। 

यही ट्रेकमा कक्षा १२ मा अध्ययनरत उनकी छोरी सुविमा भट्टराईले पहिलो पटक जुकाले टोकेको अनुभव गरिन् र यसलाई आफ्नो डायरीमा लेखिन्। “कोठामा बसेर मोबाइल हेरेर कहाँ यस्तो जुकाको अनुभव पाउन पाइन्छ र?” सुविमा भन्छिन्।

दाङका अघर दाहालले पनि मर्दी हिमाल यात्राको साहस गरे। "पहाड चढ्न सक्दैनस्" भन्ने चुनौतीलाई स्वीकार्दै, तीन दिनको पदयात्रा पूरा गरेपछि उनले धैर्यता र सहनशीलता सिकेको बताए।

पछिल्लो समय मर्दी हिमाल क्षेत्रमा नेपाली पर्यटकको घुइँचोले पर्यटन व्यवसायलाई पनि नयाँ जीवन दिएको छ। मर्दी हिमाल हाइ क्याम्पका अध्यक्ष राजकुमार तामाङ भन्छन्, “आन्तरिक पर्यटकको भरमा स्थानीय पर्यटन व्यवसाय फस्टाइरहेको छ। परिवारसँग आउन थालेपछि, नेपाली पर्यटकसँगको सामीप्यताले वातावरण पनि सहज बनाउँछ।”

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो अक्टोबर महिनामा मात्र एक लाख २४ हजार विदेशी पर्यटक नेपाल आएका छन्। बोर्डका निर्देशक मणिराज लामिछाने भन्छन्, “आन्तरिक पर्यटकको बढ्दो रुचिले दीर्घकालीन पर्यटन प्रवर्द्धनको सम्भावना बढाउँछ।”

आन्तरिक पर्यटनको विकासले प्रादेशिक अर्थतन्त्रमा प्रभावकारी टेवा पुगे पनि राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन विदेशी पर्यटकको आवश्यकता रहेको टान अध्यक्ष सागर पाण्डेको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट