अन्नपूर्ण आधार शिविरमा सरसफाइ र संरक्षण अभियान
अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा सरसफाइ अभियान सफलतापूर्वक सम्पन्न भएको छ। न्यू कान्छी बाराही युवा क्लब र जनगारण युवा क्लबका २१ जना सदस्यले आधार शिविर र नारच्याङको हुमखोला क्षेत्रसम्मको पदमार्गमा फैलिएको फोहर संकलन र व्यवस्थापन गरेका छन्।
फोहर संकलनको क्रममा कुहिने फोहरलाई खाडल खनेर गाडिएको र नकुहिने फोहरलाई तल झारिएको थियो। टोलीले आधार शिविरमा जम्मा भएको तीन बोरा सिसाजन्य फोहर अन्नपूर्ण गाउँपालिकामा बुझाएको छ।
यस कार्यलाई एसई प्रोडक्सनका सञ्चालक सुरेन गुरुङले नेतृत्व गरेका थिए भने बेलायतमा रहेका धनकुमार पाइजाले रु एक लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।
यस अभियानले पदमार्गमा जानकारिका लागि सूचना बोर्ड राखिएको छ भने, फुतफुते झरना र आधार शिविरमा डस्टबिन पनि राखिएको छ।
वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार यो शरदयाममा करिब पाँच हजार आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविर भ्रमणमा गएका छन्, जहाँ प्राकृतिक सुन्दरता, हिमशृङ्खला, झरना, दुर्लभ वनस्पति, र वन्यजन्तुहरूको अवलोकन गर्न सकिन्छ।
तपाईको प्रतिक्रिया दिनुहोस