भारतको कमाइ छोडेर पुर्खाको आरन व्यवसायमा रमाउँदै सन्तोष विश्वकर्मा
मध्यपहाडी पुष्पलाल लोकमार्गको घुम्तीमा बागलुङ नगरपालिका–४ उपल्लाचौरमा रहेको सन्तोष विश्वकर्माको सानो आरन व्यवसायले स्थानीयताको पहिचान र परम्परागत पेसालाई जीवित राखेको छ। ४१ वर्षीय विश्वकर्मा, आफ्नो पूर्खाको पेसा आरन व्यवसाय धान्न पाएकोमा खुशी छन् ।
१६ वर्षको उमेरमा रोजगारीको खोजीमा भारत गएका सन्तोष लामो समयसम्म भारतमा भाँडाकुँडा बनाउने कम्पनीमा काम गर्थे। १६ घण्टाको लामो काम र थोरै कमाइले उनी सन्तुष्ट नभएपछि, अन्ततः नेपाल फर्केर आफ्नो पुर्खाको पेसा अंगाले। “भारतमा सिकेको सीपले नेपालमा राम्रो आम्दानी गरेको छु, यहाँ आफ्ना उत्पादनले श्रमको मूल्य पाएको छु,” उनले बताए।
आरनमा उनले उत्पादन गरेका हँसिया, खुकुरी, बाउसो, तामाका भाँडाकुँडाहरु बजारमा राम्रोसँग बिकिरहेका छन्। “अहिले सजावट र परम्परागत उपयोगका लागि तामाको भाँडाको माग बढेको छ। विदेशमा समेत मेरा उत्पादन लोकप्रिय हुँदै गएका छन्,” उनले बताए। उनले उत्पादन गरेका भाँडाकुँडाहरु जापान, अमेरिका लगायतका देशमा पनि पुगेका छन्।
सन्तोषको यो सफलतामा स्थानीय सरकारको चासोको कमीले उनलाई चिन्तित बनाएको छ। उनले परम्परागत पेसाको संरक्षण र पुस्तान्तरणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने र यस पेसामा युवाहरूलाई आकर्षित गर्न आवश्यक सहयोगको माग गरेका छन्।
"विदेश जाने मोहले पुख्र्यौली पेसा लोप हुने स्थितिमा छ। यदि सरकारको सहयोग रह्यो भने यो पेसालाई आधुनिकरण गरी नयाँ पुस्तालाई यसतर्फ आकर्षित गर्न सकिन्छ," उनले भने।
तपाईको प्रतिक्रिया दिनुहोस