Techie IT

सामाजिक सञ्जाल प्रयोगमा प्रेस काउन्सिलको विशेष अपिल


प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र विभिन्न सामाजिक सञ्जालजस्तै युट्युब च्यानल, फेसबुक पेजमार्फत सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन अपिल गरेको छ। 

सहप्रवक्ता एवम् सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा काउन्सिलले सामाजिक सञ्जाल पेजहरूमा सञ्चालकको नाम, ठेगाना प्रष्ट राख्न र विश्वसनीय समाचार मात्र प्रवाह गर्न आग्रह गरेको हो।

प्रेस काउन्सिलले अनुगमन गर्दै आपत्तिजनक सामग्रीलाई सच्याउन सचेतना जगाउने काममा सक्रियता देखाएको छ। सामाजिक सञ्जाल र अनलाइन माध्यमलाई व्यवस्थित बनाउन काउन्सिलले नयाँ कार्यविधि बनाएको र त्यसको कार्यान्वयन पनि गरिरहेको जनाएको छ। युट्युब च्यानल र फेसबुक पेजमार्फत सम्प्रेषित सामग्रीमा कुनै कैफियत देखिएमा पत्रकार आचार संहिता अनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ।

काउन्सिलले अनर्गल प्रचार, द्वन्द्व सिर्जना गर्ने, अश्लील सामग्री वा अन्धविश्वास बढाउने सामग्रीका विरुद्ध नेपाल प्रहरी साइबर ब्युरोमा कारबाहीका लागि पत्राचार गरिने जनाएको छ।

विगत केही समयदेखि कतिपय सामाजिक सञ्जालमार्फत स्थापित सञ्चार माध्यमप्रति वितृष्णा फैलाउने प्रयास भएको काउन्सिलको भनाइ छ। 

काउन्सिलले यस्ता गतिविधिले सञ्चार माध्यमको प्रतिष्ठामा आँच पुर्‍याउने र आधिकारिक मिडियाप्रति अविश्वास उत्पन्न गर्ने जस्ता प्रयासलाई गम्भीरताका साथ लिएको छ। 

मिडियाको आवरणमा रहेर अनावश्यक बार्गेनिङ, दबाब र गलत सूचनाको प्रवाह गरेर गुनासो आउने गरेको भन्दै काउन्सिलले त्यस्ता कार्य रोक्न सबै सम्बद्ध पक्षलाई सचेत गराएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट