प्राधिकरणद्वारा उद्योगमा काटिएको बिजुली पुनःजोड्ने निर्णय
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले केही समयदेखि काटिएको उद्योगहरूको बिजुली पुनःजोड्ने निर्णय गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार बसेको बोर्ड बैठकले कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय कार्यान्वयन गर्दै तत्काल बिजुली जोड्न आदेश दिएको हो। प्राधिकरणका अध्यक्ष एवं ऊर्जामन्त्री दीपक खड्काले मन्त्रिपरिषद्को निर्देशनलाई कार्यान्वयन गर्दै उद्योगको बिजुली २४ घण्टाभित्र पुनःजोड्ने निर्णय गरिएको जानकारी दिए।
उद्योगका लागि डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल विवादका कारण कटौती भएको बिजुली तत्काल जोडेर १५ दिनभित्र टाइम अफ डे (टीओडी) मिटरका आधारमा बक्यौता असुलउपर गर्ने निर्णय गरिएको छ।
मन्त्री खड्काले प्राधिकरणले समयमै बिल जारी गर्नुपर्ने र व्यवसायीले सो बमोजिम रकम तिर्नुपर्ने बताए। यस क्रममा कुनै पनि पक्षबाट लापरवाही भएमा कारबाही हुने चेतावनी पनि दिएका छन्।
मन्त्रिपरिषद्ले उद्योगका लागि बिजुली व्यवस्थापनका क्रममा काटिएका फिडरहरू पुनःजोड्न र बाँकी बक्यौता १५ दिनभित्र असुल गर्नुपर्ने नीति अपनाएको छ। यो कदमले उद्योगहरूमा थप सहजता ल्याउने विश्वास गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस