Techie IT
२०८२ वैशाख ९, मंगलबार

माथिल्लो मुस्ताङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, चार सयभन्दा बढीको उपचार


अरनिको समाज नेपाल, ल्होघर दामोदर कुण्ड गाउँपालिका र तिब्बत स्वशासित क्षेत्र विदेश राष्ट्रहरुसँग जनमैत्री सङ्घको संयुक्त पहलमा माथिल्लो मुस्ताङको चराङ र घमी क्षेत्रमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। यस शिविरमा करिब ४५० जनाले विभिन्न रोगहरूको निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन्।

स्वास्थ्य शिविरमा चीनबाट आएका चिकित्सकहरू सहित १६ जना स्वास्थ्यकर्मीले आधुनिक चिकित्सा र परम्परागत सोवारिग्पा उपचार पद्धतिका माध्यमबाट सेवा प्रदान गरेका थिए। शिविरमा उपचारका साथै बिरामीलाई आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको थियो।

कुनफेन क्लिनिकका निर्देशक डा. नीमाछिरिङ नेपालीका अनुसार शिविरमा स्त्रीरोग, बालरोग, हाडजोर्नी, पेट तथा कलेजो रोग, हेपाटाइटिस बी र सी, पिसाब सम्बन्धी समस्या, पाठेघरको क्यान्सर, नसासम्बन्धी समस्या, र दन्तरोगको परीक्षण गरिएको थियो।

अरनिको समाजका कोषाध्यक्ष डा. सुशील प्रजापतिले विगत छ वर्षदेखि देशका विभिन्न हिमाली जिल्लाहरूमा बसोबास गर्ने बासिन्दाहरूलाई लक्षित गर्दै चीनबाट चिकित्सक झिकाएर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताए। यस प्रकारका शिविरले जनस्तरमा नेपाल-चीन सम्बन्धलाई बलियो बनाउन योगदान पुर्याएको पनि उनले उल्लेख गरे।

अरनिको समाजको अग्रसरतामा यसअघि रसुवा, मुस्ताङ, सिन्धुपाल्चोक, र दोलखा जिल्लामा पनि यस्तै स्वास्थ्य शिविरहरू आयोजना गरिएको थियो । समाजले आगामी दिनमा यस्ता सेवाहरूलाई निरन्तरता दिने योजना बनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट