Techie IT

दाङमा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर, सात सयभन्दा बढीको उपचार


दाङको शान्तिनगर गाउँपालिका–५ का ६० वर्षीय शोभाराम खत्री ढाड दुख्ने समस्याबाट पीडित हुनुहुथ्यो । अत्यधिक ढाड दुखाइ भएपछि उहाँ शुक्रबार आफ्नै गाउँमा नेपाली सेना रणसिँह दल गणले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि पुग्नुभयो ।     
    
उहाँ भन्नुहुन्छ, “आपनै गाउँमा निःशुल्क तथा सहज तरिकाले स्वास्थ्य परीक्षण गराए । औषधि पनि दिनुभएको छ । खुसी लागेको छ । अब सञ्चो हुने आशा पलाएको छ । घर नजिकै अस्पताल छैन । विशेषज्ञ सहितका डाक्टर गाउँमा आउँदै हुनुहुन्छ भन्ने खबर पाएपछि यहाँ आएको हुँ । राम्रोसँग सेवा लिन पाए ।”     

यो स्वास्थ्य शिविर नेपाली सेना रणसिंह दल गण, शान्तिनगर गाउँपालिका, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती आँखा अस्पताल र अन्य संस्थाहरूको सहकार्यमा शान्तिनगर गाउँपालिका–५ बैसामा आयोजना गरिएको थियो।

शिविरका क्रममा सात सय ४२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो, जसमा स्त्रीरोग, चर्म रोग, आँखा, दाँत, हाड जोर्नी लगायतका विशेषज्ञ सेवाहरू उपलब्ध गराइएका थिए। 

गम्भीर अवस्थाका दुई बिरामीको आइतबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क शल्यक्रिया गरिने योजना रहेको छ भने केही गम्भीर बिरामीलाई काठमाडौँ मेडिकल कलेजमा निःशुल्क उपचारका लागि पठाइनेछ।

१९ नं वाहिनी अड्डाका सहायक रथी पदमबहादुर बुढाले आर्थिक अभावका कारण उपचारमा पहुँच नपुगेका ग्रामीण बासिन्दालाई सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए। 

शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले स्थानीय जनताको स्वास्थ्यको आवश्यकतालाई ध्यानमा राख्दै शिविर सञ्चालन गरिएको र गम्भीर बिरामीहरूको उपचारमा विशेष ध्यान पुर्याइएको जानकारी दिए।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट