नारायणगढ-मुग्लिन सडक दुर्घटनामा ४ जनाको मृत्यु, २ गम्भीर घाइते
नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९, सत्रकिलो भन्ने ठाउँमा शुक्रबार बिहान तीन बजे भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।
बा प्र ०६–००१ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र बा प्र ३–००१ ख २८१२ नम्बरको बस आपसमा ठोक्किँदा दुर्घटना भएको हो। चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले दिएको जानकारी अनुसार दुर्घटनामा घाइते भएका अन्य दुई जनाको अवस्था गम्भीर छ। मृत्यु हुने र गम्भीर घाइते हुने सबैजना माइक्रोबसका यात्रुहरू हुन्।
दुर्घटनामा गम्भीर घाइते गोरखा जिल्ला आरुघाट गाउँपालिका–१, मान्बु निवासी अन्दाजी ४०/४२ वर्षका राजबहादुर गुरुङको मृत्यु भएको छ। त्यस्तै, चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा गम्भीर अवस्थामा उपचाररत ४० वर्ष जतिकी महिलाको पनि मृत्यु भएको छ।
उपचारकै क्रममा ३२ वर्ष र ३५ वर्षका अन्य दुई पुरुषको पनि ज्यान गएको छ। नाम र ठेगाना नखुलेका यी तिनैजना माइक्रोबसका यात्रु रहेको प्रहरीले जनाएको छ।
माइक्रोबसका चालकको भरतपुरको सरकारी अस्पतालमा उपचार भइरहेको छ भने बसमा रहेका चार यात्रु सामान्य घाइते भएका छन्। बसका सहचालक, काठमाडौं महानगरपालिका–३२ निवासी ३० वर्षीय भोजविक्रम शाह पनि सामान्य घाइते छन्।
बसका घाइतेमध्ये दुई जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस